• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    कोरोनाविरूद्धकाे १० करोड डोज खोप दिने बेलायतको घोषणा, क-कसले कहिले पाउछ ?

    586
    SHARES

    काठमाडाैं । बेलायतले एक वर्षभित्र संसारका गरिब मुलुकहरूलाई कोरोनाभाइरसविरूद्धको खोपको १० करोड डोज अनुदान दिने भएको छ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत फेब्रुअरीमा आफ्नो देशमा बढी भएको कोरोना खोप गरिब मुलुकलाई दिने बताएका थिए। बिहीबार गरिएको घोषणामा खोप कसरी दिने भन्नेबारे केही विस्तृत खुलाइएको छ।

    बेलायतले केही साताभित्रै खोप दिन सुरू गर्नेछ। आउने सेप्टेम्बरसम्म ५० लाख डोज खोप विभिन्न मुलुकलाई दिइनेछ। बाँकी ९ करोड ५० लाख डोज १२ महिनाभित्र वितरण गरिनेछ। सन् २०२१ को अन्त्यसम्ममा २ करोड ५० लाख डोज अनुदान दिने लक्ष्य छ।

    बेलायतले दिन लागेको खोपमध्ये ८० प्रतिशत कोभ्याक्समार्फत् दिइनेछ भने बाँकी २० प्रतिशत खोप बेलायतले छानेका देशमा सोझै पठाइने छ। केही साताभित्र ५० लाख डोज गरिब मुलुकलाई दिँदा आफ्नो देशको खोप कार्यक्रमलाई असर नपर्ने बेलायतको विश्वास छ।

    यसैबीच बेलायती प्रधानमन्त्री जोनसनले आजदेखि सुरू हुने जी ७ मुलुकको शिखर सम्मेलनका क्रममा यी मुलुकले एक वर्षमा संसारभरि १ अर्ब डोज कोरोना खोप दिने निर्णय गर्ने अपेक्षा गरेका छन्।

    बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि प्रधानमन्त्री जोनसनले तीन दिने सम्मेलनका क्रममा १ अर्ब डोज खोप दिने सहमति हुने अपेक्षा व्यक्त गरेका हुन्। जी ७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र बेलायत छन्।

    राष्ट्रपति बाइडेन बेलायत प्रस्थान हुनुअघि अमेरिकाले आउने वर्षसम्म संसारका अरू मुलुकलाई बाँड्न फाइजर कम्पनीसँग ५० करोड डोज किन्ने घोषणा गरेको थियो। यस्तै यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

    शुक्रबार कोर्नवालमा सुरु हुने जी-सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

    अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी-सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् । बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ ।

    बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । कोभ्याक्स कार्यक्रममार्फत् विश्वका गरिब देशहरूले खोप पाउँछन् । नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत् कोभिशिल्डको ३ लाख डोज प्राप्त गरेको छ।

    त्यस्तै संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् ।

    कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ, ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ । कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यति ठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।

    संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभ्याक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ । झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ