• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाललाई कोरोना विरुद्धको खोप दिने अमेरिकाकाे घोषणा

    12K
    SHARES

    काठमाडौँ । अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन ।

    यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्।

    नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमा यस्तो लेखेका छन् ।

    अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’  यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग घोषणाको स्वागत गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् ।

    बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मुलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

    अमेरिकाले पहिलो चरणमा एसियाली मुलुकका लागि ७० लाख डोज खोप वितरण गर्ने जनाएको छ । त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ। ५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकाले घोषणा गरेको छ ।

    त्यस्तै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए ।

    ‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’ बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।

    ‘हामी आफैं यसबारे अनभिज्ञ छौं । बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने । डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।

    नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’

    डब्लूएचओले के भन्यो ?

    विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।

    बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो । डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।

    डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।

    तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’

    डब्लूएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ ।

    त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।

    भारतमा देखिएको नयाँ भेरियन्ट ( बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् ।

    भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।

    यस्तै कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमण बढ्दै जाँदा सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको हो ।

    मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

    आईसीयूमा राखेर उनको उपचार थालिएकोमा उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको डा. कमरले बताए । ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीले जानकारी दिए ।

    उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

    के हो ब्ल्याक फङ्गस ?

    आम भाषामा ‘ब्ल्याक फंगस’ भनिने म्युकरमाइकोसिस एक प्रकारको कालो ढुसीले निम्त्याउने समस्या हो। म्युकर नामक यो ढुसी हाम्रै वरिपरि, जहीँतहीँ हुन्छ। कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस–पतिंगर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ।

    हामी स्वस्थ रहेका बेला, हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो छँदा यसले आक्रमण गर्न सक्दैन। अहिले कोभिड-१९ महामारीका बेला म्युकरमाइकोसिसको समस्या बढेको छ। यसबाट संक्रमित हुनेको संख्या भारतमा धेरै छ।

    यो अलि दुर्लभ खालकै फंगल इन्फेक्सन हो। विशेषगरी तीन/चारवटा अवस्थामा यो संक्रमण हुन्छ। एक, शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएमा। दुई, सुगर (मधुमेह) को रोगी भएमा। तीन, कोभिडको उपचारका क्रममा स्टेरोइड्स जस्ता इम्युनोमोडुलेटर औषधिको अनियन्त्रित प्रयोग गरेमा वा जसलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो अनि लामो समयसम्म अक्सिजन थेरापी दिनुपर्‍यो, उनीहरूलाई म्युकरमाइकोसिसको जोखिम हुन्छ।

    त्यस्तै, अंग प्रत्यारोपण गरेका, किमो थेरापीमा रहेका क्यान्सरका बिरामीहरूमा यो रोग देखिएको चिकित्सकहरुको भनाइ छ। यसको असली नाम राइनो–अर्बाइटो–सेरेब्रल म्युकरमाइकोसिस हो। जसमा राइनो भन्नाले नाक, अर्बाइटो भन्नाले आँखाको नानी रहने घर र सेरेब्रल भन्नाले मस्तिष्क हो। यसले विशेषतः यिनै अंगमा बढी आक्रमण गर्छ। तर, अन्य अंग जस्तै पेटको आन्द्रामा र छातीमा पनि असर गर्नसक्छ। तर, अहिले कोभिड–१९ का बेला नाक, आँखा र टाउकोमै बढी असर देखिएको छ।

    कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएकाे ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ। निको भइसकेपछि यसको संक्रमण हुनुको कारण के हो भने, कोभिडको गम्भीर बिरामी भएकालाई स्टेरोइड्स जस्ता औषधि पछिसम्म पनि चलाउनुपर्ने हुन्छ, त्यो बेला उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ। त्यहीमाथि सुगर पनि अनियन्त्रित भयो र सरसफाइमा ध्यान दिइएन भने म्युकरमाइकोसिसले छिटो समात्छ।

    कोभिड–१९ को संक्रमण भएपछि रोगसँग लड्न हाम्रो शरीरले अत्यधिक मात्रामा प्रतिरक्षा प्रणाली निर्माण गरिरहेको हुन्छ, त्यो असाध्यै बढी भएपछि बिरामीको मृत्यु हुन्छ। त्यसरी बढी भएको प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा ल्याउन हामीले स्टेरोइड्स जस्ता औषधि दिन्छौं। स्टेरोइड्स चलाएपछि शरीरको इम्युनिटी कम हुन जान्छ, सुगर लेभल बढ्न थाल्छ। यो अवस्था म्युकर ढुसीका लागि उत्तम बनिदिन्छ।

    म्युकर जिउभित्र प्रवेश गरेपछि त्यसले कुनै भागको छालामुनिको मासु बिगार्दै हड्डीसम्मै पुग्छ, कोषिकाहरूलाई खाँदै जान्छ र गहिरो घाउ बनाउँछ। त्यही घाउ कालो–कालो देखिने भएकाले यसलाई ब्ल्याक फंगस भनिएको हो। यो आफैंमा कालो हुँदैन।

    म्युकरमाइकोसिसको संक्रमण हुँदा विशेषतः नाक बन्द हुन्छ। पहेँलो पिप जस्तो वा रगत मिसिएको सिँगान वा खकार आउँछ। आँखाको नानी दुख्ने, आँखा वा अनुहारको एक पाटो सुन्निने, अनुहारको छालामा छोएको थाहा नहुने वा कम थाहा हुने हुन्छ। आँखा वरपर वा नाकको छालाको रङ रातो, नीलो वा कालो जस्तो देखिन्छ। नाकभित्र र मुख आँ गर्दा पनि भित्रपट्टिको तालु कालो देखिन्छ। बिरामीलाई धेरै टाउको दुख्ने हुन्छ। आँखाका मांसपेशी गलेर आँखा चलाउनै नसक्ने, एउटै चिज दुइटा देखिने, आँखाको दृष्टि घट्ने हुन्छ।

    यसको रोकथामका लागि केही सावधानी अपनाउनुपर्छ। कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भइएको छ भने त्यो बेला उपचारमा खटिएका समूहले विशेष ध्यान दिनुपर्छ। अक्सिजनको ट्युब र मास्क सेयर गर्न मिल्दैन, बिरामीपिच्छे अलग हुनुपर्छ। बिरामीलाई भेन्टिलेटरमा राख्दा ह्युमिडिफायरको पानी हरेक दिन फेरिरहनुपर्छ। त्यसो नगरे यी ठाउँमा ढुसी पर्न सक्छन्। हामीले सास फेर्दा त्यही ढुसी नाकबाट छिरेर समस्या शुरू हुन्छ।

    बिरामीले आफूखुशी जथाभावी स्टेरोइड्स औषधि सेवन गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार उहाँहरूको निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ। मुख एकदमै सफा राख्न जरुरी छ। दाँत माँझ्ने, मुख कुल्ला गरिरहन भुल्नु भएन। बेटाडिनले गार्गल गरे पनि हुन्छ।

    कोभिडको उपचारमा रहेका वा निको भइसकाले पनि मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नाकबाटै ढुसी छिर्ने भएकाले मास्क लगाउनैपर्‍यो। मधुमेह वा अन्य कुनै रोग छ भने आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे चिकित्सकलाई सोध्नुपर्छ, सुगरलाई नियन्त्रणमा राख्नुपर्छ।

    शुरुआती अवस्थामै रोग पत्ता लाग्यो भने यसको उपचार सहज छ। अहिलेका धेरैजसो रिपोर्टमा पिनास देखिएको छ। यस्तोमा सुईबाट एन्टिफंगल औषधि दिन सकिन्छ। तर, यस्ता औषधि त्यति सजिलै पाइँदैनन्।

    अलिअलि नाक बन्द भयो, सिँगानमा अलिअलि रगत आयो, अलिअलि आँखा सुन्नियो भनेर चुप लागेर बस्नु हुँदैन। अहिले संकटको घडीमा म्युकरमाइकोसिसबारे बरोबर सचेत हुनुपर्छ। यसबारे चासो दिइएन र रोग गम्भीर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्नसक्छ। शल्यक्रिया मार्फत त्यसले खाएका सबै भाग निकालेर फाल्नुपर्ने हुनसक्छ, आँखै निकाल्नुपर्ने हुनसक्छ। अझै दुःखको कुरा, यसको मृत्युदर ५० प्रतिशत छ। अर्थात्, यो रोग लागेका आधा मान्छेको मृत्यु हुन्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया