• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    उपराष्ट्रपति पुनले भने- गणतन्त्रमा पनि जनताकाे जीवनमा परिवर्तन ल्याउन सकेनौँ

    182
    SHARES

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको वर्षौं भइसक्दा पनि जनताको आर्थिक/सामाजिक जीवनमा परिवर्तन ल्याउन नसकिएको स्वीकार गरेका छन् ।

    गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले अझै पनि एकात्मक, सामन्तवादी, पुराना सोच–शैली विद्यमान रहेकाले जनतामा निराशा बढ्न थालेको बताएका हुन् ।

    साथै उनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको पनि बताएका छन् । सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन् ।

    ‘संविधान कार्यान्वयनका क्रममा सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ,’ उनले सन्देशमा भनेका छन्, ‘तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक/सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौँ । एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।’

    यसबेला राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर सङ्क्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न अपिल गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई दिएका छन् ।

    गणतन्त्रलाई अझ परिष्कृत गर्नका लागि संविधानसम्मत चलेर जनअभिमतको कदर गर्दै राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्न समेत उनको आग्रह छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया