• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    कोरोना संक्रमणबाट उपमेयर चौधरीको मृत्यु

    232
    SHARES

    सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।

    त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्रीमान् र ७ वर्षका एक छोरा छन् ।

    यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका–४ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान तीन बजे मृत्यु भएको छ । तीन दिनअघि राजविराजस्थित छिन्नमस्ता हस्पिटलमा उपचारका लागि भर्ना भएका ती पुरुषको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पाँच जनाको र छिन्नमस्ता अस्पतालमा दुई जनाको मृत्यु भएको थियो ।

    यस्तै उता लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो ।

    यस्तै, जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२ः०४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको डा. गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६५ पुगेको छ ।

    यस्तै उता दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो ।

    मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए।

    उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।

    यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो । एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु–१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

    “रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ”, भण्डारी बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया