• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमालेसँग पार्टी बिभाजनको रहस्य खोल्दै नारायणकाजी श्रेष्ठले दिए यस्तो प्रतिक्रिया, ओलीले के भने ?

    538
    SHARES

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन्। नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको उनले बताए।

    विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि देशी विदेशी शक्तिको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको आरोप छ।

    पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्‍याउन नसक्नु पनि कमजोरी भएको उनले बताए। कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाई छ।

    ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ। पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ। अब हामीले फेरि कम्युनिष्टलाई कसरी एकताबद्ध गर्ने?,’ उनले भने, ‘तर वैचारिक राजनीतिक कार्यदिशालाई सहि ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ।’

    नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औल्याए। विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाई छ।

    यद्यपी कम्युनिष्ट पार्टीबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने उनले बताए। ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ। तर हामी हिम्मत हार्दैनौँ। कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन’, उनले भने, ‘हामीले बाह्य शक्तिको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने।’

    नेकपा (माओवादी केन्द्र)ले आफूलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए।

    त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको दाबी गरेका छन् ।

    २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार वक्तव्य जारी गर्दै ओलीले नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको जनाएका छन् ।

    ‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,’ वक्तव्यमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

    तर उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै एमाले नयाँ स्वरूपमा पुनःस्थापित भएको दाबी पनि ओलीले गरेका छन् । ‘आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको छ,’ वक्तव्यमा छ, ‘हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौं ।’

    मदन भण्डारीले राष्ट्र तथा नेपाली जनताका लागि पुर्‍याएका योगदान दूरगामी महत्त्वको र अतुलनीय रहेको भनी ओलीले स्मरण गरेका छन् । उनले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् ।

    तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । यस दिनलाई एमालेले मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । यही दिवसको अवसर पारेर ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेका थिए । तर ०७७ फागुन २३ को सर्वोच्चको फैसलाले उक्त एकता बदर गरिदिएपछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन् ।

    पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्यो : गौतम

    मदन–आश्रित दिवसकै अवसरमा एमाले नेता वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितका नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोजेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड मदन र कमरेड आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वेषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्दै छ ।’

    एमालेसहित बृहत् वाम एकतामार्फत भण्डारी र आश्रितका मार्गदर्शनलाई सार्थक बनाउन गौतमले नेता–कार्यकर्तालाई सुझाव पनि दिएका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन उनले एमालेका जिम्मेवार नेतालाई आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया