• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा पनि देखिन थाल्यो चक्रवातकोे प्रभाव

    737
    SHARES

    काठमाडौं । भारतको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सोमबारबाट देखिन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा देखिन थालेको हो । मौसमविद् मीनकुमार अर्यालकाअनुसार ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको हाे ।

    ‘अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भनेका छन ।

    सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिएका छन् । पर्सी बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

    आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकाले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने मौसमविद अर्यालले बताएका छन् ।

    आरोहणमा नजान सुझाव
    अहिले आरोहीहरु सगरमाथासहित देशका विभिन्न हिमालमा आरोहणका लागि अनुकूल मौसम पर्खिरहेका छन् । तर अब केही दिन मौसम प्रतिकूल हुने भएकोले आधार शिविरबाट माथि नजान मौसम पूर्वानुमान् महाशाखाले आग्रह गरेको छ ।

    अरब सागरमा विकसित आँधीका कारण नेपालका हिमाली क्षेत्रका मौसम प्रतिकूल हुने भएकोले आरोहणमा नजान र माथिल्ला शिविरमा पुगेकाहरुलाई पनि तल सुरक्षित ठाउँमा झर्न अनुरोध गरेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

    चक्रवात भनेको के हो ?

    चक्रवात भनेको सामुद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तिशाली हुन्छ ।चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ ।

    तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । अहिलेको यो चक्रवातको नाम ‘ताउ ते’ म्यानमारले राखेको नाम हो ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    जेठ ३ गते सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    जेठ ४ गने मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति । देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    जेठ ५ गने बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै छिमेकी राष्ट्र भारतलाई अर्को आपतको सामना गर्नुपरेको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ । भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने अनुमान गरिएको छ ।

    आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण १ सय ५० देखि १ सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा रहेको खबरमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया