• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    स्वास्थ्य मन्त्रालयले भन्यो- बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू

    258
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

    ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

    अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् । कोरोना महामारीले देश अस्तव्यस्त बनेका बेला नेपालीहरुका लागि राहतको खबर आएको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ ।

    कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    उनकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको हुँदा ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    ​काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । यसअघि यसअघि शनिबार देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १८७ जना रहेको थियो । त्यसअघि शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार १३५ जना निको भएका थिए । यस्तै २०३ जनाले ज्यान गुमाएका थिए ।

    उसो त बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो भने ५ हजार ५५ जनामात्रै निको भएका थिए । सो दिन २१४ जनाले ज्यान गुमाएका थिए । यस्तै बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुने संख्या ४४४४ जनामात्रै थियो । सो दिन १६८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मंगलबार पनि ९ हजार माथि नै संक्रमित रहेका थिए ।

    नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएकाले यस रुपमा कोभिड बढ्छ भन्‍ने ठानेको थिइनँ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।

    ‘यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।

    यस्तो अवस्थातर्फ इंगित गर्दै प्रधानमन्त्रीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् । उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्‌देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर ‘गार्गल’ गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्‍याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको ‍औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।

    अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहोर्‍याएका छन् । ‘जति मान्छे निको भएका छन् त्यसमा पनि इम्युन सिस्टमको भूमिका छ,’ उनले भने ।

    कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । आगामी दिनमा त्यसमा सुधार गरिने पनि उनले बताएका छन् । ‘सरकारको तर्फबाट कोअर्डिनेसनको अभाव देखियो । त्यसकारण कोअर्डिनेसनको प्रभावकारी व्यवस्था गरिनेछ । कुनै पनि क्षेत्रमा कोअर्डिनेसन गरिनेछ,’ उनले भने ।

    पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन समस्या रहेको ओलीले बताए । ‘यतिबेलाको सबैभन्दा जल्दोबल्दो समस्या अक्सिजनको देखिएको छ । अक्सिजन पर्याप्त मात्रामा उत्पादन या आयात गर्नुपर्छ । जसरी हो गर्नुपर्छ । सबै प्लान्टलाई म्याक्सिमम क्षमतामा सुचारु गर्नुपर्छ,’ ओलीले भने । नेपालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने ओलीको भनाइ थियो ।

    सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएकोमा आइतबार भने प्रधानमन्त्रीले त्यसको अध्यक्षता गरेका हुन् । सीसीएमसीको बैठकले कोरोना संक्रमितको उपचार तथा कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा तदारुकताका साथ लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया