• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सकियो ओली-नेपालबिचको ‘वान टु’ वार्ता, के भयो सहमति ?

    557
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच ‘वान टु वान’ वार्ता’ भएको हो।

    २ नेताले वार्ताका क्रममा एउटा कार्यदल बनाएका छन् भने उक्त कार्यदलमा दुबै पक्षका ५/५ नेता राख्ने सहमति गरेका छन् । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

    आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो । बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।

    साथै ओलीले पार्टीमा देखिएका विवाद समाधान हुने बताएका छन्। नेता माधवकुमार नेपालसँग सिंहदरबारमा कुराकानी गरेपछि निस्केका प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी मिल्ने बताए।

    ‘पार्टी मिल्छ,’ उनले भने। एमालेभित्र गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनु पर्ने अडानमा नेता नेपाल छन्। यसबारे ओलीले पटक-पटक नेपालसँग वार्ता गरिरहेका छन्।

    त्यस्तै प्रधानमन्त्री ओलीले अध्यादेशबाट बजेट नआउने बताए। यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘प्रतिनिधि सभा जीवितै छ।’ जेठ १५ गते बजेट ल्याउनु पर्ने संविधानमै उल्लेख छ। गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन् ।

    गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।  यता एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ ।

    एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ ।

    ​चुनावको दिन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बादललाई भोट हाल्ने भएको छ । सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले पार्टीले एमालेलाई सघाउने जानकारी दिए । ‘पार्टीले आधिकारिक निर्णय त गर्न बाँकी नै छ, हामीले एमालेलाई नै सघाउँछौं । पार्टीमा त्यही अनुसार अनौपचारिक कुरा पनि भइसकेको छ ।

    एमाले पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला काँग्रेस–माओवादीसमेतको समर्थनमा एमाले समर्थित भट्टराईलाई उम्मेदवार बनाइएको र हाल एमालेको विवाद समाधान उन्मुख हुँदै गर्दा उपनिर्वाचनमा माधव समूहको भोट कता रहने भन्ने अन्योलका साथै भिडन्त रोचक बन्ने देखिएको हो ।

    कमल थापालाई ओलीको फोन !

    यसैबीच पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् । शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।

    उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए । त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार अहिलेको अवस्थामा विपक्षी गठबन्धनको उम्मेदवारबारे नै अन्योल रहेको र ओलीसँग विगतमा पनि भएको सहकार्यको आधारमा बादललाई नै मत हाल्नु हितकर हुने निष्कर्ष निकालिएको हो ।

    राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मतभार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।

    राप्रपा नेता मोहन श्रेष्ठले एमालेले आधिकारिक पत्र पठाउन बाँकी रहेकाले सो पत्र प्राप्त भएपछि पार्टीले आधिकारिक निर्णय गर्ने बताए । उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् । यीमध्ये माधव पक्षले भोट दिँदा मात्रै डा. देवकोटाले जित्ने सम्भावना छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया