• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली टिप्स

    कोरोना संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन हरेक बिहान गर्नुहोस यस्ता व्यायामहरू

    262
    SHARES

    कोरोनाबाट विश्व आतंकित छ। नेपालमा पनि संक्रमित र मृत्यु संख्या बढ्दो छ। भाइरसबाट बच्न सबैतिरबाट एउटै शब्द निस्केको छ– रोग प्रतिरोधात्मक क्षमता बढाऔं। जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ। जसको कमजोर छ उसलाई भाइरसले धेरै गलाउन सक्छ।

    कोभिडबाट मात्र होइन, सबै खाले स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरूरी छ। तर धेरै जसोलाई प्रतिरोधात्मक क्षमता के हो र यसलाई कसरी बढाउने भन्नेबारे थाहा छैन।

    सरल भाषामा भन्नुपर्दा शरीरलाई बाहिरी किटाणु, भाइरस र ब्याक्टेरियासँग लड्ने शक्तिलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ। चिकित्सा विज्ञानमा यसलाई ‘इम्युनिटी पावर’ र प्राकृतिक चिकित्सामा ‘भाइटल फोर्स’ भनिन्छ। प्राकृतिक चिकित्साले यसलाई जीवनीशक्ति पनि भन्छ।

    जीवनलाई निरन्तरता दिने शक्ति सबै सजिव प्राणीमा जन्मसिद्ध हुन्छ। यो शक्ति व्यक्तिअनुसार फरकफरक हुन्छ। तर जब यो कम हुँदै जान्छ तब शरीरमा रोगले आक्रमण गरी गलाउँछ। प्राकृतिक चिकित्सा सिद्धान्तअनुसार शरीरमा विजातीय द्रव्य, जसलाई हामी दिसा भन्छौं त्यो जम्मा हुनु नै रोगको कारण हो। जम्मा भएको फोहोर शरीरबाट निस्कासन गर्नु नै रोगबाट बच्ने आधार हो।

    हामीले अनुचित खानपान गरे निस्कासन हुनुपर्ने मल अर्थात् फोहर भित्रै अड्किन्छ र शरीरमा फोहोर जम्मा हुन्छ। जहाँ फोहोर हुन्छ त्यहाँ आफैं झिँगा भन्किन्छ, ढुसी पर्न थाल्छ र किटाणु सल्बलाउन थाल्छन्। शरीरमा पनि फोहोर जम्मा हुँदा किटाणु बस्न योग्य हुन्छ।

    भाइरस परजिवी विषाणु हो। यसले आफैंले केही गर्न सक्दैन। तर जब आफूअनुकूल शरीर अर्थात विकारयुक्त शरीर पायो भने प्रवेश गरेर आफ्नो संख्या बढाउँछ। चिकित्साशास्त्र अनुसार रोग लाग्न तीन तत्व मिल्नु पर्छः पहिलो हो, ‘एजेन्ट’। यसलाई रोगको माध्यम भनिन्छ। दोस्रो ‘होस्ट’ अर्थात् त्यो व्यक्ति जसको शरीर फोहोर छ। तेस्रो, वातावरण।

    यी तीनै कुरा मिल्यो भने रोग लाग्छ। रोगको समाधान भनेकै हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक क्षमता बलियो राख्नु हो। प्रतिरोधात्मक क्षमता बढाउन सक्ने केही सजिला र सरल विधि छन्–प्राकृतिक आहार, अनुशासित गतिविधि र उचित विचार।

    १. प्राकृतिक आहार

    सादा प्राकृतिक आहार मानिसका लागि उपयुक्त हो। तर अहिले विश्वभर मानिसले के, कति र कस्तो आहार खाने भन्नेमा विवाद भइरहन्छ। विवेकशील प्राणी मानिने मानिसलाई संसारका सबै जन्तुको खाना के हो भन्ने ज्ञान छ। तर आफ्नै खाना के हो भन्नेमा भने अहिलेसम्म मानिस अलमल देखिन्छ।

    खाना के खाने भन्ने विषयमा कुनै मान्यता बनाइरहन जरुरी छैन। शरीरलाई मापदण्ड बनाएर खाए सजिलै थाहा पाइन्छ। उपयुक्त खाना भनेको पाकेका, काँचा खानेकुरा तथा फलफूल हुन्। अनि ताजा हरिया सागसब्जी र कम प्रशोधन गरिएका खैरो चामल, आँटाको रोटी, मकै, भटमास, फापर, कोदो आदि।

    अचेल सबै खानेकुरा काँचै खान सकिने अवस्था छैन। त्यसैले पकाएका र काँचो खान सकिनेलाई मिलाएर खाए स्वस्थ रहन सक्छौं। प्रकृतिप्रेमी निरोगधामको सजिलो तीन बराबर आहारको सूत्र छ। तीन बराबर आहार भन्नाले अन्न, हरिया तरकारी र काँचो सलाद बराबर मात्रामा मिलाएर खानु। दैनिक यी तीनैथरि मिलाएर खाए शरीरमा फोहोर जम्मा हुन पाउँदैन। मोटोपन र रोग समस्या कम हुन्छ।

    खानाको कुरा गर्दा पानी भुल्नु हुँदैन। पानीको उचित प्रयोग हुनुपर्छ। बिहान उठ्नेबित्तिकै खाली पेटमा ३ देखि ४ गिलास मनतातो पिउने, कुनै पनि ठोस आहारसँग पानी नलिने र ठोस आहार र पानीको अन्तर करिब ३० मिनेटदेखि १ घन्टा राख्ने।

    पानी प्यास लाग्दा मात्र होइन, दिउँसो प्रत्येक घन्टा एक गिलासका दरले पिउनुपर्छ। बेलुकी खानाको १ वा २ घन्टापछि र सुत्नु अगाडि एक गिलास मनतातो पानी पिएर सुत्ने। यसरी पिउँदा चाहिने पानी पुग्छ र शरीरलाई गर्मी पनि हुन दिँदैन।

    सामान्यतः पानी चिसै खाँदा हुन्छ। तर पेट दुखेको, रुघाखोकी लागेको र ग्यास्ट्रिक बढेको अवस्था भए मनतातो खानुपर्छ। अनि भर्खर जन्मेका शिशु र दूधे बालबालिकालाई पनि समयसमयमा पानी पिलाउनु पर्छ।

    २. अनुशासित गतिविधि

    हामीले गर्ने गतिविधि नमिलेर पनि हाम्रो शरीरमा समस्या आएर प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले हाम्रा सम्पूर्ण गतिविधि अनुशासित हुनुपर्छ।

    हाम्रो खराब अंग स्थितिका कारण धेरै समस्या आउँछन्। अंग स्थिति भन्नेबित्तिकै मेरुदण्डको कुरा आउँछ। शरीरले गर्ने धेरै गतिविधि छन् जस्तै उठ्ने, बस्ने, सुत्ने, पढ्ने, लेख्ने, गाडी चलाउने, टिभी हेर्ने, व्यायाम गर्ने आदि। जुनसुकै गतिविधि गर्दा हरेक समय मेरुदण्ड सोझो, खुकुलो हुनपर्छ। यसले शरीरमा लचकता बढाउँछ। रक्त, स्नायु र स्वास सञ्चार ठीक राख्छ।

    त्यस्तै समाजमा खाएर मात्रै बलियो भइन्छ भन्ने भ्रम छ। वास्तवमा निद्रा पनि ठूलो औषधि हो। गहिरो र सन्तुलित निद्राले प्रतिरोधात्मक क्षमता बढाउँछ। उदाहरणका लागि भर्खर जन्मेका बच्चा २३ घन्टासम्म सुत्छन् र त्यही निद्राबाट शरीरको विकास तीव्र हुन्छ। यसैबाट हामीले बुझ्नुपर्छ निद्राको शक्ति।

    निद्राले थाकेको शरीरमा ऊर्जा थपेर पुनः जाँगरिलो बनाउँछ। तसर्थ सन्तुलित निद्रा आवश्यक छ। हामी वयस्कलाई सामान्यतः ६ देखि ८ घन्टा गहिरो निद्रा जरूरी छ। तर सुत्नु पर्ने चाहिँ बेलुका नै हो। राती ढिला सुतेर बिहान अबेरसम्म सुत्ने वा दिउँसो सुतेर रातीको निद्रा पूर्ति हुन सक्दैन। त्यसैले राती १० बजे सुत्ने र बिहान सूर्य उदाउनु अगाडि उठ्नु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

    हामीलाई स्वच्छ हावा र घाम पनि उत्तिकै जरूरी छ। जति स्वच्छ हावा र घामको सामिप्यता हुन्छ, त्यतिकै प्रतिरोधात्मक क्षमता बढ्छ। त्यसैले स्वस्थ रहन हरेक दिन स्वच्छ हावामा कम्तिमा ३० मिनेटदेखि १ घन्टा मर्निङवाक, व्यायाम, प्राणायाम गर्नुपर्छ भने दैनिक १ घन्टा घाम ताप्नुपर्छ। घाममा भिटामिन-डी पाइन्छ जसले हड्डी बलियो बनाउँछ। हिँड्न नसक्नेहरूले पनि जहाँ मिल्छ, त्यहाँ बसेर ताजा हावा लिनु पर्छ र घाम ताप्नु पर्छ। साथै कोठाका झ्याल खोलेर हावा र घामको प्रवेश गराउनु पर्छ।

    हाम्रो काम र आरामको पनि सन्तुलन हुनुपर्छ। हामी प्रायः व्यस्त हुन्छौं। दौडधुपमै दिन बित्छ। अत्यधिक परिश्रमले शरीरलाई बढी थकाउँछ, गलाउँछ। धेरै आरामले पनि शरीर रोगयुक्त हुन्छ। त्यसैले हामी जति परिश्रम गर्छौं, शरीरलाई त्यत्तिकै आराम पनि चाहिन्छ। काम र आरामको सन्तुलन मिल्नुपर्छ।

    नियमित योग, व्यायाम र प्राणायम

    व्यायाम स्वस्थ रहने एउटा माध्यम हो। हरेक दिन एक घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु राम्रो हुन्छ। यसले शरीरका सम्पूर्ण जोर्नीमा लचकता प्रदान गर्नुका साथै शरीरको ताप कायम राख्छ। रक्त, स्वास र स्नायु सञ्चारलाई ठीक गर्छ। र तनावबाट बचाउँछ।

    ध्यान दिनु पर्ने कुरा, अत्यधिक भारी र बलपूर्वक गरिने व्यायामले शरीरलाई तनाव गराउँछ। हलुका शरीर सञ्चालन हुने व्यायामले लाभ गर्छ।

    सामान्यतः व्यायाममा बिहान स्वच्छ हावामा १ घन्टा हिँड्न सकिन्छ। त्यसैगरी योग व्यायाममा अंगव्यायाम, सूर्यनमस्कार, पेटको व्यायाम, कब्जियत हटाउने आसनहरू, सवासन र प्राणायम गर्न सकिन्छ जसले शरीरलाई बलियो र तगडा बनाउनुका साथै स्वासलाई पनि ठीक गरी मानसिक स्थिति पनि बलियो गर्छ।

    ३. उचित विचार

    जसरी स्वस्थ रहन आहार र विहारको महत्व हुन्छ, त्यसैगरी विचारको उत्तिकै महत्व हुन्छ। आहार र विहार ठीक गर्नै पनि विचारको मुख्य भूमिका रहन्छ। आहार र विहार वातावरण र परिस्थितिअनुसार कहिलेकाहीँ नमिल्न सक्छ। तर विचार हमेसा हाम्रो मुठ्ठीमा हुन्छ। त्यसैले सधैं उचित विचार हुनुपर्छ।

    धेरैलाई लाग्न सक्छ विचार उचित, अनुचित छुट्याउने कसरी? केही गाह्रो छैन। यो शरीर नै सबभन्दा ठूलो प्रयोगशाला हो। जसरी आहार, विहार मिले–नमिलेको शरीरमा देखापर्छ, त्यसैगरी विचार उचित-अनुचित पनि शरीरमै प्रकट हुन्छ। जुन विचार गर्दा शरीरमा अप्ठ्यारो हुन्छ त्यो विचार अनुचित र शरीरलाई सजिलो बनाउने विचार उचित। त्यसैले जे गर्दा, जे खाँदा र जे विचार गर्दा पनि शरीरलाई मापदण्ड बनाएर गरे हामी अधिकांश समस्याबाट सजिलै बच्न सक्छौं।

    प्रतिरोधात्मक क्षमता बढाउन घरमै गर्न सकिने सजिलो व्यायामः सूर्य नमस्कार

    आसनहरूमा सबभन्दा प्रभावशाली आसन हो– सूर्य नमस्कार। यो शारीरिक व्यायाम मात्र होइन, सासको ताल मिलाएर गरिने हुँदा मानसिक सन्तुलन पनि स्थिर बनाउन सहयोग गर्छ। सूर्य नमस्कारमा १२ वटा आसन छन् जसको अभ्यासले शरीरका सम्पूर्ण जोर्नीको लचकता बढाई व्यायाम गराउँछ।

    यसलाई विस्तारै, मध्यम र तीव्रका चारचार पटक गरी १२ पटक गरिन्छ। समय अभाव भएमा सूर्य नमस्कार मात्र गर्दा पनि सम्पूर्ण व्यायामको लाभ हुन्छ। तर सूर्य नमस्कार गर्नुअगाडि १० देखि १५ मिनेट हल्का शरीर तताउने ‘वार्मअप’ या अंगव्यायाम गर्नुपर्छ। यसले शरीरका जोर्नीलाई लचकता प्रदान गरी आसन गर्न सहयोग गर्छ।

    सूर्य नमस्कार गर्ने तरिकाः

    प्रणामआसनः सास छोड्दै सिधा उभिने। दुवै हात नमस्कार गरेर छातीमा टसाउँने। हस्तउत्तानासनः सास तान्दै दुवै हातलाई कानबाट सिधा माथि लगेर तन्काउने र आँखाले हल्का माथि हेर्ने। पादहस्तानासनः सास छोड्दै निहुरिएर घुँडा नखुम्च्याइ हातले भुइँ छुने र टाउको, निधारले घुँडा छुने प्रयास गर्ने।

    अश्वसञ्चालनः दुवै हत्केलाले भुइँ छोइरहने। सास तान्दै बाँया खुट्टा पछाडि सिधा तन्काउने र दायाँ खुट्टा खुम्च्याउने र टाउको माथि फर्काउने र आकाशतर्फ हेरिरहने।  डंडासनः अब सास छोड्दै दायाँ खुट्टालाई पनि पछाडि लगेर दुवै खुट्टाका पन्जाले भुइँ छुवाएर सिधा गर्ने। दुवै हत्केलाले भुइँ नै छोइरहने र सिधा हेरिरहने।

    अष्टाङ्ग नमस्कारः दुवै हल्केलाले भुइँ नै टेकाइरहने, सास तान्दै र बिस्तारै छोड्दै दुवै हात खुम्च्याएर चिउँडो, छाती, दुवै घुँडा र दुवै खुट्टाका औंलाले भुइँ छुवाउने। कम्मर र हिपको भाग माथि उठाउने र सिधा अगाडि हेरिरहने। भुजंगासनः दुवै हातले भुइँमा टेकिरहने। दुवै खुट्टा पछाडि सिधा गर्ने र सास तान्दै पेटदेखि माथिको भाग हातमा बलमा उठाउने र टाउको माथि फर्काएर माथि हेरिरहने।

    पर्वतासनः हातले भुइँमै टेकिरहने। सास छोड्दै पछाडि दुवै खुट्टाका पैतालाले ढ्याप्प भुइँमा टेक्ने। कम्मर माथि उठाउने र टाउकोलाई दुई हातको कुहिनाका बीचमा राख्ने र नाइटोतिर हेर्ने। यो ठीक पहाड जस्तै आसन बन्छ। अश्वसञ्चालनः सास तान्दै चौथोमा जस्तै गर्ने। यसमा दाँया खुट्टा पछाडि सिधा र बाँया खुट्टा अगाडि राख्ने। पादहस्तानासनः सास छोड्दै तेस्रो आसनको पुनरावृत्ति गर्ने। हस्तउत्तानासनः सास तान्दै दोस्रो आसन गर्ने।

    प्रणामआसनः सास छोड्दै पहिलो आसन।

    अश्वासनः सूर्य नमस्कारपछि उत्तानो सुत्ने। दुवै हातलाई गर्धनमुनि ‘लक’ गर्ने। दुवै खुट्टा जोड्ने र घुँडासम्म खुम्च्याउने। विस्तारै सास छोड्दै खुट्टालाई बाँयातिर मोड्ने र टाउकोले दाँया कुहिनो हेरिरहने। दुवै कुहिनाले भुइँ छोएको हुनुपर्छ। २० देखि ३० गन्ने र सास तान्दै बीचमा फर्कने र विस्तारै फेरि सास छोड्दै विपरीत दिशामा मोड्ने। दसदस पटक।

    सवासनः एकछिन सवासन अर्थात आराम आसनमा बस्ने। भुइँमा सिधा उत्तानो सुत्ने। दुवै खुट्टालाई करिब एकदेखि दुई फिट फट्टयाउने, हातलाई कम्मरभन्दा चार इन्च पर राख्ने। सम्पूर्ण शरीर खुकुलो राख्ने। आँखा, मुख बन्द गर्ने र सास र शरीरमा ध्यान दिने। ३ देखि ५ मिनेट आराममा बस्ने।

    यसरी सूर्य नमस्कारको १२ देखि २० ‘राउन्ड’ गरेमा शरीरमा सम्पूर्ण जोर्नीहरू व्यायाम भई शरीरको लचकता बढ्छ। सूर्य नमस्कारलाई मन्त्रअनुसार पनि गर्न सकिन्छ। सूर्य नमस्कार गर्न नसकेमा अहिलेको अवस्थामा बाहिर निस्कन नमिल्ने भएकाले आफ्नो कौसीमा करिब ३० देखि ४५ मिनेट फटाफट हिँड्दा पनि हुन्छ। घरको काम, सरसफाई, बारीमा काम गर्ने जस्ता व्यायामयुक्त काम गरे पनि हुन्छ। जे गरे पनि २४ घन्टामा १ घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम हुँदा राम्रो हुन्छ।

    तर रुघाखोकी ज्वरो र अरू भाइरल समस्यामा आराम गरेर बस्नुपर्छ। व्यायाम गर्नु हुँदैन। (सेताेपाटीबाट साभार: लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन्।)

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया