• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया, कसलाई के भने ?

    462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् ।

    ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका साथ गइरहेका छौ । यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वीकार्य हुनसक्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

    यस्ता प्रवृति छोड्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह थियो । उनले अहिले कोभिड १९ का विरुद्ध लड्नुपर्ने बेलामा अस्वस्थ, अनुचित र जनतामा निराशा पैदा गर्ने र सरकारका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण प्रचार गर्ने र जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने प्रवृति हावी भइरहेको बताए ।

    उनले यस्तो बेला कसैले कोभिडको रोकथाम वा स्वास्थ्य सेवाका नाममा भ्रष्टाचार गर्छ वा अनुचित लाभ लिन खोज्छ भने कडाइका साथ कारवाही गर्ने दोहोर्याए । साथै उनले देश र जनताप्रति पूर्ण बफादारिताका साथ सपथ शब्दको पालना गर्ने भन्दै त्यसका लागि सदाझैँ इमानदारी, सक्रियता र पारदर्शिताका साथ कर्मचारीबाट सहयोग हुने विश्वास समेत व्यक्त गरे ।

    यसअघि वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादी लगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन्।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो। उक्त समयभित्र धारा ७६ (२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल-नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना खेर गएको थियो। यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औं प्रधानमन्त्री भएका छन्।

    आफुले पद तथा गोपनियताको सपथ लिएसंगै ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । जसअनुसार ईश्वर पोखरेललाई उप्रपधान तथा प्रधानमन्त्री, रामबहादुर थापा बादललाई गृह, टोपबहादुर रायमाझीलाई उर्जा र विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै प्रदिप ज्ञवालीलाई परराष्ट्र, दयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति, कृष्णगोपाल श्रेष्ठ, शिक्षा, प्रभु साह, सहरी विकास, भानभुक्त ढकाल, पर्यटन, मणिचन्द्र थापा, खानेपानी, पद्मा अर्याल, कृषि, बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात र गौरीशंकर चौधरी, श्रम, रोजगार मन्त्री बनेका छन् ।

    त्यस्तै पार्वत गुरुङ, सञ्चार, शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठ, कानून, गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले, वन, जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामा तामाङ, युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

    यता अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको लागि कार्यदल बनाउने निष्कर्ष पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग भएको वार्ताबारे आफू निकटका स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका छन् । नेता नेपालले आफु पक्षका स्थायी समितिका नेताहरुलाई ओलीसँगको कुराकानी जुममार्फत जानकारी गराएका हुन् ।

    स्थायी समिति सदस्यहरूसँगको ब्रिफिङपछि नेता नेपालले आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई पनि बिफ्रिङ गर्ने भएका छन् । केन्द्रीय सदस्यहरुको माग अनुसार नेता नेपालले उनीहरुसँग ब्रिफिङ गर्ने र सदस्यहरूका कुरा सुन्नलाई समय मागेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

    ‘खासगरी हाम्रा कुरा सुनाउन नेता नेपालसँग छलफल गर्न हामीले समय मागेका हौं । उहाँले हिजो भएको वार्ताबारे सामान्य जानकारी गराएपछि हामीले हाम्रा कुरा राख्छौ उहाँले सुन्नुहुन्छ’, राईले भने ।

    त्यति मात्रै हैन त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

    खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए ।

    नेकपा एक हुँदासम्म ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र नेपालबीच बिहीबारको घटनाक्रम पछि खटपट शुरू भएको आंकलन गरिएको छ । बहुमतको सरकार गठनमा नेपालले साथ नदिँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास विफल बनेको थियो ।

    यता नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले अब पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने बताएका छन् ।

    उनले अब पार्टी एक भएर अघि बढ्नेमा आफू ढुक्क रहेको भन्दै पार्टी एकतालाई मजबुद बनाउन थालेको कदमका लागि धन्यवाद दिएका छन् । साथै नेता गौतमले देशको ४३ औँ प्रधानमन्त्री बन्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष कमरेड केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव कमरेड माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

    उता नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् ।

    तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।

    बूढानीलकण्ठ बैठकको विश्लेषण सुनाउँदै एक नेताले भने, ‘अब केपी ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म कुर्दैनन्, जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने तयारी थालिएको छ, १५ गते अगावै विश्वासको मत माग्छन् र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँछन् ।’

    ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आकलन छ । स्रोतले भन्यो, ‘उनलाई बहुमत चाहिएकै छैन, त्यसैले महन्थ ठाकुरलाई तटस्थ नै राखेर माधव पक्षलाई पनि राजीनामा दिनबाट रोकेर संसदमा कसैको बहुमत पुग्न नदिने ओलीको रणनीति छ ।’

    ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले बताए । विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ ।

    यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको स्रोतले बतायो । साथै, देशमा बढिरहेको कोरोना महामारीको विरुद्धमा पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारलाई पनि घच्घच्याउने निर्णय भएको ती नेताले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया