• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    विवाहभोज खाएपछि कोरोना संक्रमण, एकै घरका ३ जनाको मृत्यु

    248
    SHARES

    बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

    यता उता बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो ।

    ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

    बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०ः३० बजे नै मृत्यु भएको उनले बताए । उनीमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

    बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

    सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिउँसो १२ः४० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया