• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीले सपथ ग्रहण गरेलगत्तै प्रचण्ड र नेपालबीच गोप्य भेटवार्ता, के बिषयमा भयो कुराकानी ?

    453
    SHARES

    काठमाडौँ । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्।

    प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

    उता ओलीले पुन: प्रधानमन्त्री को सपथ लिइरहेका बेला यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

    खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए ।

    नेकपा एक हुँदासम्म ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र नेपालबीच बिहीबारको घटनाक्रम पछि खटपट शुरू भएको आंकलन गरिएको छ । बहुमतको सरकार गठनमा नेपालले साथ नदिँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास विफल बनेको थियो ।

    यता नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले अब पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने बताएका छन् ।

    उनले अब पार्टी एक भएर अघि बढ्नेमा आफू ढुक्क रहेको भन्दै पार्टी एकतालाई मजबुद बनाउन थालेको कदमका लागि धन्यवाद दिएका छन् । साथै नेता गौतमले देशको ४३ औँ प्रधानमन्त्री बन्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष कमरेड केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव कमरेड माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

    के भन्छ काँग्रेस ?

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् ।

    तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।

    बूढानीलकण्ठ बैठकको विश्लेषण सुनाउँदै एक नेताले भने, ‘अब केपी ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म कुर्दैनन्, जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने तयारी थालिएको छ, १५ गते अगावै विश्वासको मत माग्छन् र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँछन् ।’

    ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आकलन छ । स्रोतले भन्यो, ‘उनलाई बहुमत चाहिएकै छैन, त्यसैले महन्थ ठाकुरलाई तटस्थ नै राखेर माधव पक्षलाई पनि राजीनामा दिनबाट रोकेर संसदमा कसैको बहुमत पुग्न नदिने ओलीको रणनीति छ ।’

    ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले बताए । विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ ।

    यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको स्रोतले बतायो । साथै, देशमा बढिरहेको कोरोना महामारीको विरुद्धमा पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारलाई पनि घच्घच्याउने निर्णय भएको ती नेताले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया