• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    गण्डकीमा कोरोना संक्रमणको डरलाग्दो अवस्था, ९४ जनाको मृत्यु

    263
    SHARES

    काठमाडाैं । पाँच दिनअघि पोखराको एक परिवारले आफन्तसहित भेला भएर जन्मदिनको उत्सव मनायो । त्यो ‘बर्थ डे पार्टी’मा करिब २० जना सहभागी थिए । उनीहरुमध्ये केहीलाई ज्वरो र रुघाखोकी लाग्यो । परीक्षण गर्दै जाँदा सहभागी १७ जनालाई कोभिड पोजेटिभ देखियो । संक्रमितमध्ये एक जनालाई श्वास फेर्न गाह्रो भयो । अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भयो ।

    पोखरा–१३ मा ७१ वर्षीय वृद्ध घरमै थिए । उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखा पर्‍यो । परिवारका अनुसार उनमा कुनै दीर्घ रोग थिएन । कमजोर महसुस गरेको बताएपछि चरक मेमोरियल अस्प्तालमा लगे । त्यहाँबाट बेड छैन भनेर भनेर पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याए । मणिपालमा पनि बेड नपाएपछि फेरि बेड मिलाएर चरकमा ल्याए । कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । अक्सिजन सपोर्ट दिएपछि ठीक देखिएका उनको भोलिपल्ट मृत्यु भयो ।

    एक्कासी स्वास्थ्यमा समस्या देखिएर २७ गते चरक मेमोरियल अस्पताल पुगेकी पोखरा–७ की ४५ वर्षीया महिलामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । आईसीयूमा भर्ना गरेर उपचाररत उनको भोलिपल्ट २८ गते नै मृत्यु भयो ।

    प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो समय संक्रमित हुने र उपचार पाउँदा-नपाउँदै मृत्यु हुने संख्या बढ्दो छ । घरमै बसिरहेका भर्खरका तन्नेरीदेखि यसअघि कुनै स्वास्थ्य समस्या नभएका बुढा-बुढीले समेत ज्यान गुमाइरहेका छन् ।

    गण्डकी प्रदेशमा पछिल्लो १० दिनमा ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्, जसमध्ये ५१ जना कास्कीका छन् । वैशाखभरी गण्डकीमा १११ जनाको मृत्यु भएको छ, उनीहरुमध्ये ५९ जना कास्कीका मात्र छन् । बिहीबार मात्र गण्डकी प्रदेशमा १४ जनाको मृत्यु भयो । बुधबार १६ जनाको मृत्यु भएको थियो । २५ गते १२ जना, २६ गते १३ जना र २७ गते १२ जनाको मृत्यु भएको थियो ।

    ‘कतिबेला कसलाई जटिल स्वास्थ्य समस्या आइपर्छ, कतिबेला अक्सिजनको मात्र ह्यात्तै घट्यो भन्ने जानकारी नै हुँदैन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल भन्छन्, ‘सञ्चो भयो भनेकाहरुले पनि मृत्युवरण गरिरहेका छन् ।’

    केही समयअघि १७४ वटा नमूना परीक्षण गर्दा १०४ जनामा युके भेरियन्ट देखिएको थियो । त्यसमा पनि २७ जना ११ वर्षका बच्चामा देखिएको छ । नयाँ भेरियन्ट छिटो फैलिने मात्र होइन, जुन सुकै उमेर समूहलाई पनि असर गर्ने गरेको पाइएको छ ।

    ‘कोरोना संक्रमण दर हेर्दा हामी एकदमै जटिलतामा छौं । सामान्य रुपको देखिराखेको कोरोनाभन्दा धेरै फरक प्रकृतिको हामीले बेहोरिरहेका छौं,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘अझै एक महिना संक्रमणसँगै मृत्यु बढ्नसक्छ, ।’

    प्रदेशमा सबभन्दा बढी जोखिममा राजधानी पोखरा छ । वैशाखमा मात्र कास्कीमा ३ हजार १८६ जना संक्रमित थपिएका छन् । जबकी चैत मसान्तसम्म ४१६ जना मात्र थिए । सिंगो प्रदेशमा पनि त्यसरी नै संक्रमण बढेको छ । वैशाख पहिलो हप्तासम्म ४१६ जनामात्रै सक्रिय संक्रमित रहेको गण्डकी प्रदेशमा अहिले ७ हजार ३१ जना पुगिसकेको छ ।

    अस्पतालहरु संक्रमितले भरिउका छन् । पोखरामा सरुवा रोग तथा संक्रामक अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलसन जटिल बिरामीले भरिइरहेका छन् । निजी अस्पतालका कोभिडका बेडहरु पनि भरिभराउ भएका छन् । संक्रिय संक्रमितमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा छन्, तर उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी हुन सकेको छैन ।

    त्यस्तै पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १-१ जना गरी १३ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् ।

    यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्‍ज-१५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज–२६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज-५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे उनको मृत्यु भएको छ ।

    यस्तै नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका-८ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ११: ९ बजे, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुषको बिहीबार अपरान्ह ४:१० बजे र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको बिहीबार अपरान्ह ४ बजे मृत्यु भएको अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए ।

    ‘अस्पतालमा अक्सिजन सकिएको थियो । सबैतिर हार गुहार गर्‍यौं, कतैबाट आएन । ’ उनले भने ‘ विरामीको छोराले अस्पतालको सिलिण्डर लगेर बाहिरबाट अक्सिजन खोजेर ल्याए । त्यतिखेरसम्म उनको बुवाको मृत्यु भइसकेको थियो ।’

    यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक-१० की ६५ वर्षीया महिलाको बिहीबार बिहान ६ बजे र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ ।

    यस्तै नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिलाको बिहीबार बिहान सवा १२ बजे मृत्यु भएको छ । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाइ बुधबार मात्रै बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान २:१६ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।

    त्यस्तै बैशाख २८ गते नै कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुष कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परे । नारायाणी अस्पतालमा ल्याई एन्टीजीन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई थप उपचारका लागि भोलिपल्ट प्रभु अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार बेलुका ६:५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    बिहीबार नै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान १२:५ बजे उनके मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २७ गते संक्रमण पुष्टि भएकै दिन उनलाई गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । वडा सदस्य समेत रहेको उनको शव परिवारले लगेर दाह संस्कार गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया