• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    चपली हाइटमा के भयो त्यस्तो सहमति ? जसकारण फेरी प्रधानमन्त्री बने ओली, खुल्यो यस्तो रहस्य

    323
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो ।

    सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली–नेपाल कार्यदल बनाउने निष्कर्षमा पुगे भएको छ ।

    एमाले वरिष्ठ नेता नेपालले सञ्चारकर्मीसग ‘कार्यदल बनाएर पार्टीभित्रको समस्या समाधान गरिने सहमति भएको’ प्रस्ट पारे । सांसद पदबाट राजीनामा दिने प्रसंग दुई÷चार दिनलाई टरेको पनि उनले उल्लेख गरे ।

    ‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे सर्तसहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ को अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका लागि कार्यदल बनाउने र विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’

    उनका अनुसार २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्किनुपर्ने र २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने प्रस्तावमा पार्टी अध्यक्ष ओली ‘सकारात्मक’ देखिएका छन् ।

    छलफलअघि ओली सन्देशसहित बिहीबार बिहानै अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पौडेल– नेपाल छलफलपछि एमाले स्थायी कमिटी बैठक बसेर यसअघि गरिएका कारबाही फुकुवा गर्ने निर्णय गरिएको थियो । यसपछि मात्रै ओली–नेपाल छलफलको वातावरण बनेको हो ।

    एमाले नेता गोकर्ण विष्टले यसअघि गरिएको कारबाही फुकुवा गरेपछि पार्टी विवाद समाधान गर्ने वातावरण बनेको बताए । शीर्षनेताबीच छलफल सकारात्मक भएको बताउँदै उनले विवाद क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

    ओली–नेपाल सहमतिले पार्टी विवाद समाधान हुने देखिएको छ । कार्यदलले सबै काम गर्ने भएपछि विवाद समाधान हुने निश्चित भएको छ । कार्यदलमा ओली र नेपाल दुवै समूहका नेता रहने भए पनि ‘कति सदस्यीय बनाउने भन्नेबारे खुलाइएको छैन ।

    पार्टी विवाद समाधान गरेर एकता जोगाउन विभिन्न तहमा पटकपटक छलफल हुँदै आएको छ । शीर्षका साथै दोस्रो तहका नेताबीचसमेतको छलफलपश्चात् सहमतिको वातावरण बनेको हो । ओली–नेपाल छलफलअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेता नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय भएको छ । पार्टी एकता रक्षाका लागि विगत बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले निलम्बन फुकुवा गरेको हो ।

    बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखापर्ने परिस्थिति सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ । त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै पार्टी झण्डा तीन दिन झुकाउने निर्णयसमेत बैठकले गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    ओलीले आज शपथ लिने

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् ।

    गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन । ३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो । जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका थिए ।

    पुनः नियुक्ति पाउनुभएका प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    तर, धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया