• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँ उपत्यकामा कर्फ्यु सुरु हुन नपाउँदै आयो अर्को कडा आदेश

    7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

    निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न/गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछन् । मानिसकाे भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

    साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

    विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । यसैबीच उपत्यकामा गएराति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

    बुधबार राति १२ बजेदेखि यसअघि तोकिएको निषेधाज्ञाको समयावधि सकिएकाले थप दुई हप्ता निषेधाज्ञा जारी गरिएको हो । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । निषेधाज्ञा जारी रहेकै समयमा कोरोना संक्रमणको दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।

    कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

    अब चार जिल्ला मात्र खुला छन् । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन् । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन् ।

    निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

    गएको चार सातामा ९ वर्ष उमेरमुनिका ३ हजारभन्दा बढी बालबालिकामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १ देखि २८ गतेसम्म ९ वर्ष मुनिका ३ हजार ३४ बालबलिकामा कोरोना संक्रमण देखिएको छ ।

    यस अवधिमा कोरोना संक्रमणले उक्त उमेर समूहका ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार निषेधाज्ञा जारी भएपछि उक्त उमेर समूहमा संक्रमण तीव्र गतिमा फैलिएको देखिन्छ ।

    चालु निषेधाज्ञा अघि ९ वर्ष उमेरसम्मका बालबालिका दैनिक सय जनाभन्दा निकै कममा संक्रमण देखिने गरेकोमा निषेधाज्ञायता दिनमा २४६ जनासम्ममा संक्रमण फेला परेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

    त्यस्तै नेपालमा संक्रमण शुरू भएदेखि २०७८ वैशाख २८ सम्ममा उक्त उमेर समूहका संक्रमित बालबालिकामध्ये २७ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५३८ जना बालबालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको विवरण छ ।

    उक्त उमेर समूहमा एक वर्षमा ६ हजार ५८५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो । यता चार सातामा ३ हजार ३४ जनामा देखिएको छ । नयाँ भेरिएन्टको कोरोना संक्रमणमा बालबालिका संक्रमित हुने दर बढेको छ ।

    १० वर्षमाथि पनि संक्रमण बढ्दो

    पछिल्लो चार सातामा दश वर्षमाथि १९ वर्षभन्दा कम उमेर समूहमा संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बितेको चार सातामा यो उमेर समूहका ८ हजार ८८६ जनामा संक्रमण फेला परेको छ ।

    गत वर्ष संक्रमण शुरू भएयता २०७७ चैत मसान्तसम्ममा यस उमेर समूहका १८ हजार ४०८ जनामा संक्रमण देखिएको थियो । संक्रमितको संख्या बढ्दै जाँदा मृत्युदर पनि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण वैशाख २८ गतेसम्म १० देखि १९ वर्षमुनिको उमेर समूहका २६ जनाको मृत्यु भएको छ ।

    यस्तो छ विज्ञहरूको सुझाव

    विज्ञहरूका अनुसार बालबालिकालाई भिडभाडमा नलैजानु नै संक्रमण रोकथामको पहिलो उपाय हो । ईशान बाल तथा महिला अस्पतालका निर्देशक प्राडा आरपी चौधरी संक्रमण रोकथाम नै सबैभन्दा महत्वपूर्ण हुने बताउँछन् ।

    उनले भने, ‘पहिलो त संक्रमण हुन नदिनु नै राम्रो हो, संक्रमण भइहाल्यो भने पनि नआत्तिई धैर्यसाथ उपचारमा लाग्नुपर्छ ।’ बालबालिकालाई घरबाहिर लिएर जानै पर्ने भएमा उचित ढङ्गले मास्क प्रयोग गराउन, भौतिक दूरी कायम गराउन, स्यानिटाइजर प्रयोग गराउन, साबुनपानीले हात धुन लगाउन र अन्य उपाय अपनाउन डा. चौधरीको सुझाब छ ।

    बालबालिकाको उमेर अनुसार आफैँ सफाइ गर्न नसक्नेलाई अभिभावकले गराउन र गर्न सक्नेलाई मापदण्ड पालना गर्न सिकाउन पनि उनको सुझाब छ । परिवारका कुनै सदस्यलाई कोरोना संक्रमण भएको छ भने बालबालिकालाई संक्रमितबाट टाढा राख्नु र्छ । संक्रमति व्यक्तिले अरूलाई सर्न नदिन मापदण्डअनुसार सुरक्षाका सबै उपायहरू अपनाउनुपर्छ ।

    भिटामिन सी युक्त पोषिलो खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यस्तो खानामा जोड दिन चिकित्सकहरूले सुझाब दिँदै आएका छन् । डा. चौधरीका अनुसार संक्रमित बालबालिकालाई सास फेर्न कठिन भएको छैन, ज्वरो सामान्य छ र पखाला लागेको छैन भने घरमै आइसोलेट गरेर राख्न सकिन्छ ।

    सास फेर्न कठिन भएको, उच्च ज्वरो आएको वा शरीरमा अक्सिजन कम भएको अवस्थामा भने जतिसक्दो चाँडो अस्पताल लगेर चिकित्सकको सल्लाह बमोजिम गर्न डा. चौधरीको सुझाब छ ।

    जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डे बालबालिका र सबै उमेर समूहका मानिसले कोरोना संक्रमणबाट बच्न सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउँछन् । दुई वटा सर्जिकल मास्क उचित तरिकाले प्रयोग गरेर, भौतिक दूरी कायम गरेर तथा सुरक्षाका अन्य नियम पालना गरेर कोरोना संक्रमणबाट बच्न सकिने डा.पाण्डेले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया