• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ नै नियुक्त

    271
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि जनमोर्चाका तीन जना सांसदको हस्ताक्षर नपुगेपछि दलको समर्थनमा बहुमत दाबी गर्दै निवेदन पेश गरिएको थियो ।

    जनमोर्चाका बाग्लुंगका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाले संसदीय दलको सचेतकबाट हटाएको पत्र प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर उनलाई सांसद पदबाटै नहटाइएपछि गठबन्धनले बहुमत सिद्ध गर्न नसकेको हो । जनमोर्चाले अन्तिम समयसम्म थापाको हस्ताक्षर गराउने भन्दै नामावली लगे पनि उनी त्यसअघि नै गाउँ फर्किएका थिए ।

    मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफूलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गरी ३१ सांसदको समर्थन रहेको दाबीसहित प्रदेश कार्यालयमा निवेदन दिएका थिए । उनीहरुले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको दाबी गरेका थिए ।

    राष्ट्रिय जनमोर्चाका सांसद थापासहित अर्को सांसद खिमबिक्रम शाहीले पनि आफू विपक्षी गठबन्धनमा नभई तटस्थ रहेको विज्ञप्ति जारी गरेका थिए । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

    संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीको शपथ लिएसँगै अब गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । राजीनामा दिँदै गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका थिए ।

    त्यस्तै यता नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले राजीनामा दिने संकेत गरेका छन् । नेपाल-खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

    राष्ट्रपति विद्यादेवि भण्डारीले बिहिबार बेलुका ९ बजेभित्र बहुमतको सरकारको दाबी गर्न विपक्षमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।
    त्यसअघि नै एमालेको नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया