• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज ९३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ को मृत्यु

    639
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने, ४ हजार ४४४ जना निको भएका छन् ।

    सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ

    यस्तै सरकारले रेम्डिसिभिर औषधिको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।

    कोभिड-१९ को उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित रुपमा सिफारिस भएको औषधि नभएको बताउँदै उनले कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा प्रति भाइल ४ हजार ९०० रुपैयाँमा खरित गर्न सकिने जानकारी दिएका हुन् ।

    चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रेस्क्रिप्सन चाहिने छ ।

    त्यस्तै नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सवै एकै ठाउँ उभिन अपील गरेको छ ।

    “जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया ! सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं” भन्दै संघले बुधबार जारी गरेको अपीलमा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाजलगायत सवै दाजुभाई तथा दिदी बहिनीहरूलाई अरु सवै छाडेर कोरोनाविरुद्धको लडाइमा लाग्न अपील गरेको हो ।

    संघले राष्ट्पति विद्यादेवी भण्डारीलाई महामारीको क्षणमा सवै अपील समेत गरेको छ । यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ’, अपीलमा भनिएको छ ।

    संघले अस्पतालको प्राङ्गणमा भएका दृष्य कारुणिक दृश्य देख्न विवश भएको भन्दै जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय नहुने भन्दै ‘मानौं अस्पतालमा ति हृदय विदारक दृष्य अर्कै लोकका हुन । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ?’भनेर प्रश्न गरेको छ ।

    संघले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरहेपनिसमयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको र सास्ती व्यहोर्नुपरेको पनि जनाएको छ ।

    ‘आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने’, संघले सरोकारवालाहरूलाई विन्ती गरेको छ ।

    संघले सबैको सहयोगको अपेक्षा गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेने भन्दै हिम्मत नगुमाउने पनि जनाएको छ ।

    ‘राज्य संचालनको जिम्मा लिएकाहरुले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत बनाउन सवैले हातेमालो गरिरहेका छन भन्ने अनुभूत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्बना हामीले त्यो अनुभूत गर्न पाएनौं ।

    यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ’, अपीलमा भनिएको छ । साथै संघले नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै देशभर “RED-ALERT” घोषणा गर्न समेत माग गरेको छ ।

    कोरोनालाई जित्नुभयो ? अब अनिवार्य ध्यानमा राख्नुहोस् यी कुरा

    ‘अब आराम छ कि अझै समस्या छ ? रिपोर्ट नेगेटिभ आयो ?’ तपाईंमध्ये कतिले हिजो वा आजमात्रै यी प्रश्न कसैलाई सोध्नुभएको होला । वा सायद यी प्रश्नको जवाफ दिनुभएको होला । आफ्नाको चिन्तामा तपाईंको भावना सायद नै कुनै सरकारी आँकडामा कहिले गन्ती हुन सक्ला ।

    तर पनि यदि गन्ती गर्नु नै परे नेपालमा ३ लाख १२ हजार १९ संक्रमित निको भइसकेका छन् । यो आँकडामा सायद तपाईंका केही आफन्त पनि पर्लान् । यो जानकारी तपाईंहरुका उनै आफन्तका लागि हो । किनभने कोरोना हारेको त छ तर अहिलेसम्म भागेको छैन ।

    कोरोनाबाट निको भइसकेका मानिसहरुले अब अन्य समस्याको सामना गरिरहेका छन् । केही मानिसलाई थोरै काम गर्दा पनि थकाई लाग्छ, कतिलाई सास फेर्न समस्या। कतिलाई मुटुको नयाँ रोग लागेको छ तर कतिमा अन्य समस्या देख्न र सुन्न पाइएको छ ।

    त्यसै कारण डाक्टरलाई मान्ने हो भने पोस्ट कोभिड केयर पनि त्यति नै आवश्यक छ, जति कोभिड केयरमा चाहिन्छ । तपाईंले जति ख्याल कोभिड–१९ हुँदा राख्नुभयो, यसबारे निको भएपछिको केही हप्ता वा महिनासम्म तपाईंले त्यति नै सतर्कताका साथ ख्याल राख्नुपर्छ । नभए सानो लापरवाही पनि तपाईंमाथि भारी पर्न सक्छ ।

    कोभिड–१९ को शरीरमा असरः

    यसका लागि कोभिड–१९ मा शरीरका कुन हिस्सा वा अंग प्रभावित हुन्छन् भनेर थाहा पाउन आवश्यक छ । अहिले पनि धेरै मानिसहरु यसलाई रुघा–खोकी लाग्दा आउने ज्वरो जस्तै ठान्छन् । मानिसहरुलाई लाग्छ कि कोभिड–१९ हुँदा फोक्सोमाथि मात्रै असर पर्छ ।

    तर यस्तो होइन । यो रोग नयाँ भएकोले यसले शरीरका अन्य अंगमा निम्त्याउने असरबारे पनि बिस्तारै थाहा भइरहेको छ । कोभिड–१९ का कारण मुटु, दिमाग, मांसपेशी, धमनी र नसा, रगत, आँखाजस्ता शरीरका थुप्रै अंगमा पनि असर पर्ने प्रमाण भेटिइसकिएको छ ।

    यसैकारण हृदयघात, डिप्रेशन, थकान, जीउ दुख्ने, रगत जम्ने र ब्ल्याक फंगसजस्ता समस्याको मानिसहरुले सामना गरिरहेका छन् । त्यसैले डाक्टरले कोभिड–१९ बाट निको भएपछि पनि शरीरका अन्य अंगमा हुने परिवर्तनलाई हल्का रुपमा नलिन सल्लाह दिएका छन् । धेरै समयसम्म यसमा परिवर्तन आए डाक्टरको सल्लाह लिन सुझाइएको छ ।

    हल्का लक्षण भएका कोभिड–१९ का बिरामीले निको भएपछि के गर्ने ?

    धेरैजसो कोभिड–१९ का बिरामी घरमै बसेर निको भइरहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल जान आवश्यक पर्दैन । तर घरमा बसिरहेका बिरामीका लागि पोस्ट कोभिड–१९ केयर आवश्यक हुन्छ ।

    यसबारे बिस्तारले भारतको सर गंगाराम अस्पतालमा मेडिसिन विभागका प्रमुख डा. एसपी बायोत्रा भन्छन्, ‘हल्का लक्षण भएका बिरामी पनि पूर्ण रुपमा निको हुन २–८ हप्ताको समय लाग्छ । यो समय हरेक व्यक्तिका लागि भिन्न हुन्छ । ’

    ‘कमजोरी, एकैपटक धेरै काम गर्दा थकान, भोक नलाग्ने, निद्रा असाध्यै लाग्नु वा फिटिक्कै नलाग्नु, शरीर दुख्नु, शरीर हल्का तातो हुनु, डर – यी केही यस्ता लक्षण हुन् जुन मध्यम बिरामीमा निको भएपछि साधारणतया देख्ने गरिन्छ ।’ यस्तै भारतका एक डाक्टर बायत्रो पनि कोरोना बिरामीको उपचार गरिरहेका छन् । आफ्ना निको भएका हल्का लक्षण भएका बिरामीका लागि उनको सल्लाह छ –

    यदि तपाईं आफैं स्वस्थ महसुुस गरिरहनुभएको छ भने नेगेटिभ रिपोर्ट लिइरहनुपर्ने आवश्यकता छैन । त्यसैले पुनः परीक्षण नगराउनुहोस् । १४ दिनपछि आइसोलेशनबाट बाहिर निस्कन सक्नुहुन्छ । निको भइरहेको क्रममा खानपिनको विशेष ख्याल राख्नुहोस् ।

    प्रोटिन र हरियो सागसब्जी धेरै मात्रामा खानुहोस् । यस्तो यसकारण किनभने यो रोग लाग्दा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । खान मन लाग्दैन भने थोरै थोरै समयको अन्तरालमा खानुहोस् र पानी सही मात्रामा पिउनुहोस् ।

    नियमित योग र प्रणायाम गर्नुहोस् । ब्रिदिङ एक्सरसाइज गर्नुहोस् र एकैपटक धेरै काम नगर्नुहोस् । निको भएको केही दिनसम्म (१५–३० दिन) अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको लेभलमा ध्यान दिनुहोस् । तातो वा मनतातो पानी मात्रै पिउनुहोस् । दिनमा दुई पटक बाफ कुनै पनि हालतमा लिनुहोस् , ८–१० घण्टाको निद्रा पुर्‍याउनुहोस् र आराम गर्नुहोस् ।

    ७ दिनपछि डाक्टरसँग फलोअप चेकका लागि जानुहोस् । डाक्टर बायोत्रालाई विश्वास गर्ने हो भने कोभिड–१९ द्वारा हल्का बिरामी निको भएको १०–१५ दिनभित्र काममा फर्कन सक्छन् । क्रमशः पुरानो दिनचर्यामा फर्किन सकिनेछ । डाक्टरले यदि केही औषधी खाने सल्लाह दिएका छन् भने त्यसै गर्नुहोस् । औषधी रोक्नुअघि डाक्टरसँग पक्कै पनि सल्लाह लिनुहोस् ।

    यदि तपाईं कोभिड–१९ का साथै अन्य रोगबाट पनि ग्रसित हुनुहुन्छ भने निको भइसकेपछि पनि जे औषधी बताइएको छ, त्यो खान जारी राख्नुहोस् । यस्तो बिरामीले विशेष सावधानी अपनाउन आवश्यक छ । यसका साथै कोभिड–१९ बाट निको भएका बिरामीले धुम्रपान र मद्यपानबाट टाढै बस्नुपर्छ ।

    डाक्टर बायोत्रालाई विश्वास गर्ने हो भने घरमा बसेर निको भएका बिरामीले आफ्नो शरीरमा भइरहेको परिवर्तनलाई निकै सुक्ष्म ढङ्गले याद राख्नुपर्छ । कुनै पनि परिस्थितिमा उक्त परिवर्तनको कारण बुझ्नुभएन भने डाक्टरसँग तुरुन्तै सम्पर्क गर्नुहोस् ।

    कम गम्भीर र अत्यधिक गम्भीर लक्षण भएका बिरामीले के गर्ने ?

    दिल्लीका राम मनोहर लोहिया अस्पतालमा पल्मोनोलोजिस्ट डाक्टर देश दिपक पनि आजकाल कोभिड–१९ बिरामीको उपचारमा लागेका छन् । बीबीसीसँगको टेलिफोन संवादमा उनले भने, ‘गम्भीर बिरामी जो कोभिड–१९बाट निको भएर घर फर्किएका छन्, उनीहरु सबैका लागि एउटै गाइडलाइन नहुन सक्छ । यसले बिरामीको प्रतिरक्षा प्रतिक्रिया र केस–टु–केस बेसिसमा नै हेर्नुपर्छ ।’

    उनका अनुसार शरीरमा पानीको मात्रा सही राख्नका लागि भरपुर तरल पदार्थको सेवन, पौष्टिक आहार, छिट्टै थकाई लाग्ने भएकोले एकैपटक धेरै काम नगर्नेलगायतका कुरामा गम्भीर कोभिड संक्रमणबाट निको भएका बिरामीले ध्यान दिनुपर्छ ।

    आफ्नो अघिल्लो वर्षको अनुभवको आधारमा उनले गम्भीर लक्षण भएका बिरामी पूर्ण रुपमा निको हुन तीन महिनाको समय लाग्न सक्ने बताएका छन् । धेरै दिनसम्म अस्पतालमा बसेर फर्किएकाहरु निको हुन थोरै समय लाग्न सक्छ ।

    तर निको हुने क्रममा उनीहरु बेड नै भइरहनुपर्छ भन्ने होइन । यस्तो मानिसहरुले निको भएपछि ब्रिदिङ एक्सरसाइज, प्राणायमबाट दिनको सुरुवात गर्नुपर्छ । यी मानिसहरुले समयसँग आफ्नो दिनचर्यामा नयाँ चिज जोड्न सक्नुहुन्छ ।

    डाक्टर देश दिपक भन्छन्, ‘यस्ता बिरामीलाई साइको–सोसल सपोर्ट धेरै चाहिएको हुन्छ । विशेषगरी वृद्ध–वृद्धा र अन्य रोगसँग जधिरहेका मानिसहरुलाई । घरमा आएर अक्सिजन चेक गर्नु वा आफैं अक्सिजन लगाउनु, समयमा सही औषधी खानु – यी स–सानाले कुरा हुन्छन् जसले मानसिक रुपमा उनीहरुलाई निकै तनावमा पार्न सक्छ । यस्तो अवस्थामा परिवार र छर–छिमेको सहयोगले निकै महत्व राख्छ । आवश्यकता पर्दा मानसिक स्वास्थ्यका लागि काउन्सलरको पनि मद्दत लिनुपर्छ । सकारात्मक सोचले असाध्यै महत्व राख्छ ।’

    गम्भीर रुपमा थलेका केही बिरामीलाई घरमा केही दिनसम्म अक्सिजन सपोर्टमा रहन डाक्टरले सल्लाह दिएको हुनसक्छ । त्यस्ता बिरामीलाई विशेष ख्याल राख्नुपर्छ । उनीहरुलाई बिस्तारै डाक्टरको सल्लाहमा अक्सिजनमा निर्भरता कम गर्नेतर्फ अघि बढ्नुपर्छ ।

    डाक्टर देश दीपकका अनुसार हरेक मध्यम र गम्भीर बिरामीले कोभिड पछि पनि केही समस्याको सामना गर्नुपर्छ भन्ने नै छैन । यस्तो कमै हुन्छ ।

    ती समस्याबारे कुरा गर्दै उनी भन्छन्, ‘केही बिरामीलाई पछि गएर फोक्सोसँग जोडिएका केही समस्या देखिन सक्छ – जस्तै फोक्सो संकुचित हुनसक्छ । केही बिरामीमा मुटुसँग सम्बन्धित समस्या देख्न सकिन्छ । यस्तो मामिलामा कुनै एउटा गाइडलाइन दिन सकिँदैन ।’

    यस्ता बिरामी आफ्नो डाक्टरको सल्लाहमा नै रिकभरी पिरियडमा हिँड्नुपर्छ । विश्व स्वास्थ्य संगठनको तर्फबाट पनि यसबारे कुनै विस्तृत जानकारी वा गाइडलाइन जारी गरिएको छैन । तर यसवर्ष जनवरीको महिनामा जारी एक नोटमा अस्पताल गएर फर्किएका कोरोना बिरामीका लागि फलो–अप चेकअप र लो–डोज एन्टिकग्युलेन्ड वा रगत पातलो पार्ने औषधीको प्रयोग गर्न सल्लाह दिइएको थियो ।

    डाक्टर देश दीपकका अनुसार केही बिरामीलाई निको भएपछि एन्टीकग्युलेन्ट वा रगत पातलो पर्ने औषधीको आवश्यकता पर्छ पर्र्दैन भन्ने विषयमा डाक्टरको सल्लाह लिनुपर्छ । यसबाहेक केही मानिसहरुमा अस्पतालबाट फर्किएपछि मांसपेशीमा कमजोरी पनि हुनसक्छ । यसबाट पार पाउनका लागि प्रचुर मात्रामा प्रोटिन खान सल्लाह दिइन्छ ।

    कोभिडबाट निको भएका बिरामीमा औषधीको साइडइफेक्ट केही हप्तापछि देख्न पाइन्छ, केहीमा फंगल इन्फेक्सनको संक्रमण पनि अब देखिन थालेको छ । यसका लागि बिरामीले निको भइसकेपछि पनि आफ्नो शरीर र त्यसमा देखिएको परिवर्तनमाथि निकै सुक्ष्म ढङ्गले निगरानी राख्नुपर्छ ।

    यस्ता बिरामीले अस्पतालबाट छुट्टी पाएको १५ दिनपछि पुनः डाक्टरलाई फलोअप चेक गराउनुपर्छ । त्यतिबेला यदि कुनै परीक्षण गर्न भनिएको छ भने गराउनुहोला । यतिबेला मास्क लगाउने, बारम्बार हात धुने र दुई गजको दुरी ख्याल राख्न पनि त्यत्तिकै महत्वपूर्ण छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया