• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा कोरोनाका कुनकुन भेरिअन्ट फैलिरहेका छन्, यसो भन्छन विज्ञ

    192
    SHARES

    काठमाडौं । नेपालमा पनि कोरोनाभाइरसका उत्परिवर्तित प्रकारहरू देखा परेकाले जनस्वास्थमा जोखिम बढेको विज्ञहरूले बताएका छन्।नेपालमा युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्यूटन्ट भेरिअन्ट पहिचान भएका छन्।

    तीव्र गतिमा भाइरस उत्परिवर्तन हुँदै जाँदा एक पटक सङ्क्रमित भइसकेपछि वा कोभिड-१९ विरुद्धको खोपबाट बन्ने प्रतिरोध क्षमतालाई तिनले छल्न सक्ने जोखिम भएको जनस्वास्थ्यविद्हरू बताउँछन्। नयाँ स्वरूपका भाइरसहरू छिटो फैलिने मात्र नभई बढी सङ्क्रामक समेत भएको अध्ययनहरूले देखाएका छन्।

    स्वास्थ्य अधिकारीहरूका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमणमा बालबालिका र किशोरकिशोरीहरू अघिल्लो पटकभन्दा बढी प्रभावित भेटिएका छन् भने ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरू आईसीयूमा भर्ना हुने दर पनि अघिल्लो लहरभन्दा उच्च छ।

    “अघिल्लो लहरभन्दा यो पटक छोटो समयमा सङ्क्रमण फैलिएको त छ नै युवाहरूलाई नै अस्पताल भर्ना हुनुपर्ने र अक्सिजन दिनुपर्ने दर पनि बढी देखिएको छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले भने।

    अघिल्लो लहरमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूमा त्यस्तो अवस्था भएको उनले बताए। विज्ञहरूका अनुसार उत्परिवर्तनका क्रममा भाइरस कम वा बढी सङ्क्रामक र घातक बन्ने गर्छ।

    कोरोनाभाइरसको भारतीय भेरिअन्टबारे धेरै अध्ययन हुन बाँकी नै रहे पनि यूके भेरिअन्टको सङ्क्रमणदर बढी पाइएको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।

    उत्परिवर्तित भाइरसबाट कस्तो जोखिम?

    जनस्वास्थ्यविद्हरू भाइरसले आफ्नो स्वरूपमा परिवर्तन गरिरहँदा यसको रोकथाम र निदानका लागि भएका प्रयासहरू नै निष्प्रभावी हुन सक्ने बताउँछन्।

    त्रिभुवन विश्वविद्यालयको सूक्ष्मजीवविज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा उत्परिवर्तित भाइरसका कारण यसअघि नै सङ्क्रमण भएर प्रतिरोध क्षमता बनाइसकेका व्यक्तिहरूमा समेत पुनः सङ्क्रमणको जोखिम रहने बताउँछन्। डा. बन्जाराले भने, “अघिल्लो प्रजातिले सङ्क्रमण भएर हाम्रो शरीरमा विकास भएको प्रतिरोध क्षमता नयाँ प्रजातिलाई काम नलाग्ने हुन सक्छ।”

    “पहिला सङ्क्रमित भएको व्यक्तिलाई त्यही भेरिअन्टको भाइरससँग पहिचान र प्रतिरोध गर्ने क्षमता हुन्थे र फेरि सङ्क्रमण हुने सम्भावना कम हुन्थ्यो। तर नयाँ प्रकारको भाइरसमा त्यसले काम नगर्ने हुन सक्छ।”

    खोपको प्रभाव कस्तो हुन्छ?

    डा. बन्जाराका उत्परिवर्तन भएर नयाँ प्रकारका भाइरस बन्दा अहिलेसम्म बनेका र प्रयोगमा रहेका खोपहरूले समेत काम नगर्ने अवस्था आउन सक्छ। “जुनजुन प्रकारलाई लक्षित गरेर खोपहरू बनाइएका छन् ती खोपले नयाँ प्रकारमा काम नगर्न सक्छन्,” उनले भने।

    “अहिलेसम्म पत्ता लागेका प्रकारमा खोपहरू प्रभावकारी हुने नै भनिएको छ। तर कुनै चरणमा खोपले लक्षित गरेको एन्टिजनमै भाइरस म्यूटन्ट भएर नयाँ भेरिअन्ट आएको अवस्थामा अहिलेकै खोपले समेत काम नगर्न सक्छ।”

    नेपालमा कोरोनाभाइरसका सिकिस्त बिरामीहरूलाई उपचारका लागि सङ्क्रमणमुक्त भइसकेका व्यक्तिको रगतबाट प्लाज्मा झिकेर दिने गरिएको छ।

    प्लाज्मा थेरपी प्रभावकारी हुन्छ कि हुँदैन?

    भाइरस प्रतिरोधी क्षमता बढाउन गरिने यो उपचार पद्धति समेत उत्परिवर्तित भाइरसका कारण प्रभावहीन हुन सक्ने डा. लुना भट्ट शर्माले बताइन् ।

    “प्लाज्मा दिने व्यक्तिलाई भन्दा लिने व्यक्तिलाई उत्परिवर्तन भइसकेको भाइरस रहेछ भने प्लाज्मा थेरपी विधिबाट गरिने उपचार समेत निष्प्रभावी हुन सक्छ। म्यूटेशन भनेकै शरीरमा भाइरसलाई पहिचान गर्न बनेको क्षमतालाई छलेर भाइरसले सक्रियता देखाउनु हो,” उनी भन्छिन् ।

    कोरोनाभाइरस मात्र नभई हरेक सङ्क्रामक भाइरसहरूले समयसमयमा आफ्नो स्वरूप परिवर्तन गरेर वैज्ञानिक र स्वास्थ्य अनुसन्धाताहरूलाई चुनौती दिने गरेका छन्।

    के नेपालमा कोरोनाभाइरसका अरू भेरिअन्ट पनि हुन सक्छन्?

    नेपालमा अहिलेसम्म सुरु फैलिएकोबाहेक कोरोनाभाइरसबाहेक दुईवटा भेरिअन्ट पहिचान गरिएको छ। तर अझ बढी भेरिअन्ट भेटिन सक्ने विज्ञहरू बताउँछन्। छिमेकी राष्ट्र भारतमा विश्वमा धेरै फैलिएका यूके, अफ्रिकी र ब्रजिलियन तीनवटै भेरिअन्ट तथा भारतमा विकसित नयाँ भेरिअन्ट फेला परेको अवस्थामा छ।

    गत फागुन महिनामा सङ्कलन गरिएका नमुनामध्ये १५ वटा नमुना जीन सीक्वन्सिङका लागि हङ्‌कङस्थित विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशाला पठाइएकामा नौ जनामा यूके भेरिअन्ट र एक जनामा भारतमा देखिएको डबल म्यूटन्ट भेटिएको थियो।

    नेपालमा सङ्क्रमण फैलनुमा यूके भेरिअन्ट बढी जिम्मेवार रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्। केही नमुनामा अघिल्लो वर्षबाटै अस्तित्वमा रहेको पुरानो भाइरसको जीन भेटिए पनि दार्चुला र पोखराका नमुनामा फरक प्रकारको जीन भेटिएको थियो।

    डा. पुनका अनुसार नेपालमा दुईवटा भेरिअन्ट मात्र पहिचान भए पनि थप नमुना अध्ययन गर्ने हो भने नयाँनयाँ भेरिअन्ट भेटिन सक्छन्। “भारतमा भेटिएको डबल म्यूटन्ट नेपालमा आइसक्यो भने भारतमा त यूके, ब्रजिलियन र अफ्रिकन प्रकार पनि छन्। कतै ती प्रकारका कोरोनाभाइरस पनि नेपालमा आइसकेका पो छन् कि वा नेपालमा नै कुनै नयाँ प्रकार विकसित भएर फैलिइरहेको पो छ कि?” पुन भन्छन्।

    “नेपालमा अहिले धेरैलाई सङ्क्रमण गरिहेको भेरिअन्ट कुन चाहिँ हो त यो पहिचान हुन जरुरी छ।” हामीले धेरै सीक्वन्सिङ गरेका छैनौँ त्यो पनि अलि अगाडिकै हो। यहाँ यसबीचमा अरू पनि धेरै भेरिअन्ट आइसकेका हुन सक्छन्,” डा. बन्जारा भन्छन्।

    “हामीले समयसमयमा सीक्वन्सिङ गरेर विश्वकै अन्य भेरिअन्टजस्तै छन् वा यहाँ नयाँ प्रकारको आएको छ भनेर जान्न आवश्यक छ।” यूके भेरिअन्टले सङ्क्रमण गर्दा गन्ध र स्वाद हराउने समस्या कम तर अस्पतालमा भर्ना हुने जोखिम बढी हुने र बालबालिका लागि पनि सुरुको भाइरसभन्दा थप घातक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कृष्णप्रसाद पौडेलले गत साता स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बताएका थिए ।

    के कोरोनाभाइरसको भेरिअन्ट नेपालमै चिन्न सकिन्छ?

    नेपालले भाइरसको भेरिअन्ट पहिचानका लागि कोरोनाभाइरस पोजेटिभ देखिएका तर आनुवंशिक गुण फरक देखिएका नमुनामध्ये केहीलाई हङ्‌कङ पठाएर पहिचान गर्दै आएको छ।

    भेरिअन्ट पहिचानका लागि एउटा नमुना परीक्षण गर्न करिब ६०,००० रुपैयाँ खर्च हुने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्।

    नेपालमा कोरोनाभाइरसका प्रकार छुट्ट्याउन मिल्ने उपकरण ल्याइसकिएको भए पनि सबै कामका लागि स्रोतसाधन अपुग भएको उनको भनाइ छ।

    “हामीले एकदमै छिट्टै नै यसलाई चलाउने योजना बनाएका छौँ। त्यसपछि पनि सबै नमुनाको अध्ययन गरिरहनु आवश्यक हुँदैन। वर्षमा १,००० नमुनाको मात्र अध्ययन गर्ने लक्ष्य लिएका छौँ,” उनले भनिन्।

    भाइरसको स्वरूपले स्वास्थ्य मापदण्ड र महामारी प्रतिकार्यमा फरक नपार्ने डा. झाले तर्क गरे पनि भाइरसको रोकथाम र निदानका लागि यसको उत्परिवर्तित स्वरूपबारे थाहा हुन हुन जरुरी रहेको डा. बन्जारा बताउँछन्।

    “भोलि नयाँ प्रकारको भाइरस आइदियो भने त्यसलाई कसरी निदान र रोकथाम गर्ने भन्ने तयारीका लागि पनि अध्ययन जरुरी हुन्छ। नेपालमै यसको पहिचान गर्न सक्ने क्षमता विकास गर्न अत्यन्त आवश्यक हुन्छ,” उनले भने। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ? बीबीसीबाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ