• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights जीवनशैली टिप्स

    कोरोना लागेकालाई ५ देखि १० दिनको समय ‘क्रिटिकल’, यस्तो बेला के गर्ने, के नगर्ने ? विज्ञहरुले दिए यस्तो सुझाव

    383
    SHARES

    काठमाडाैं । कीर्तिपुरका एक ४२ वर्षीय स्थानीय पुरुषलाई सुरूमा सामान्य रूघाखोकीले समात्यो। तीन दिनपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आयो। उनी घरको छिँडीमा छुट्टै कोठामा बस्न थाले।

    चौथो दिन उनलाई हनहन्ती ज्वरो आयो। ज्वरो बढेर १०२ डिग्रीसम्म पुग्यो। खोकी पनि लाग्यो। तर, सिटामोल खाएको केही बेरमा ज्वरो कम हुन्थ्यो। उनी धेरै सिकिस्त देखिन्थेनन्। कोठाभित्र हिँडडुल र झ्याल–ढोकाबाट अरू मान्छेसँग कुराकानी गर्न गाह्रो भएन। छैठौं दिनसम्म आउँदा उनी बौरिसकेका थिए। ज्वरो ९८ थियो, रूघाखोकी निको भइसकेको थियो। उनी कोरोनाबाट मुक्ति पाइयो भनेर ढुक्क थिए।

    सातौं दिन पासा पल्टियो। ज्वरो र रुघाखोकी केही नभए पनि ‘अक्सिमिटर’ ले सामान्यभन्दा कम आँकडा देखायो। यसबीच आफू तंग्रिन थाले पनि उनले आफ्नो औंलामा अक्सिमिटर च्यापेर शरीरको अक्सिजन मात्रा नाप्न छाडेका थिएनन्। यही उनका लागि सबभन्दा हितकर साबित भयो।

    निको भएँ भन्ठानेर बसेका उनको शरीरमा अक्सिजनको मात्रा एकाएक ८७ सम्म झर्‍यो। यस्तो आंकडा ९० भन्दा कम भए जोखिमपूर्ण र ८५ भन्दा कम भए त तुरुन्त अस्पताल जानू भनेर चिकित्सकहरूले सुझाउने गरेका छन्।

    उनलाई घरमै अक्सिजन दिन थालियो। अक्सिजन दिँदा ९० पुग्थ्यो, निकाल्दा फेरि घटिहाल्थ्यो। एक दिनभरि घरैमा राखेर अक्सिजन दिँदा पनि सुधार नभएपछि उनलाई कीर्तिपुर अस्पताल लगियो। पहिलो लक्षण देखिएको दसौं दिन उनी अहिले अस्पतालमा छन्। उनलाई नियमित अक्सिजन दिइएको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको परिवारका सदस्य बताउँछन्।

    दोस्रो लहरको कोभिड महामारीबाट संक्रमित व्यक्तिको यो घटनामा एउटा कुरा महत्वपूर्ण छ, जुन हामी सबैले थाहा पाउनुपर्छ। त्यो हो, पहिलो लक्षण देखिएदेखि हरेक दिन क्यालेन्डरमा चिनो लगाउँदै ज्वरो र अक्सिजनको मात्रा नाप्नु र दुई सातासम्म शरीरमा आउने उतारचढाव केलाउँदै जानु।

    कोभिड–१९ को लक्षण व्यक्तिपिच्छे फरक हुनसक्छ, तर जब यो भाइरसले गम्भीर रूप लिन्छ, तब धेरैजसो व्यक्तिमा उस्तै समस्या आउने गरेको पाइएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, यो रोगका दुई चरण हुन्छन्। प्रत्येक चरण सामान्यतया एक साताको हुन्छ। अधिकांश बिरामीलाई एक साताभित्रै निको हुन्छ। जसको संक्रमण दोस्रो सातामा प्रवेश गर्छ, उसले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ।

    पहिलो र दोस्रो साताबीचका पाँच दिन हरेक बिरामीको निम्ति संवेदनशील हुन्छ। भन्नुको मतलब, पहिलो लक्षण देखिएको पाँचदेखि १० दिनसम्म बिरामीले विशेष ख्याल राख्नुपर्छ।

    हालै अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले यसबारे लामो रिपोर्ट प्रकाशन गरेको छ। विभिन्न अस्पतालका सरूवारोग विशेषज्ञहरूलाई उद्धृत गर्दै लेखिएको उक्त रिपोर्टको सारांश माथि उल्लिखित कीर्तिपुरको घटनासँग मिल्दोजुल्दो छ।

    रिपोर्ट भन्छ, ‘प्रारम्भिक लक्षण देखिएको केही दिनपछि बिरामीको अवस्था सामान्य हुनसक्छ। कतिपय बिरामी पहिलेभन्दा तंग्रिएका छन्। तर, यसको मतलब बिरामी कोरोनामुक्त भयो भन्ने होइन। दोस्रो सातामा प्रवेश गरेपछि बिरामी एकाएक थला पर्न सक्छ, ऊ चिन्ताजनक अवस्थामा पुग्नसक्छ।’

    रिपोर्टअनुसार, कोभिड–१९ मा पहिलो लक्षण देखिएको पाँचदेखि १० दिनसम्मको अवधि एकदमै ‘क्रिटिकल’ हुन्छ। यो समय बिरामीलाई निको भएजस्तो देखिए पनि शरीरमा अक्सिजनको मात्रा घटेर जोखिमपूर्ण अवस्थामा पुगेको हुनसक्छ।

    यस्तो अवस्था आउन नदिन बिरामीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। लक्षण घट्दै गएको छ भनेर ढुक्क हुँदै अक्सिजन नाप्न बिर्सियो भने अक्सिजनको मात्रा ८५ भन्दा तल झरिसक्दा पनि थाहा नहुनसक्छ। पछिल्लो समय धेरै बिरामीलाई एकैचोटि आइसियू भर्ना गर्नुपर्ने अवस्था आउनुको एउटा कारण यो पनि हो।

    ‘खासगरी वृद्धावस्थाका बिरामी र उच्च रक्तचाप, मोटोपना धेरै भएका वा मधुमेहका बिरामीमा त पाँचदेखि १० दिनको समय झनै चुनौतीपूर्ण हुन्छ,’ अल्बर्टा विश्वविद्यालयका सरूवारोग विशेषज्ञ डा. इलान स्वार्जलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘युवा उमेरका बिरामीमा पनि पाँचौं दिनपछि समस्याले गम्भीर रूप लिएको पाइएको छ। यस्तो अवस्थामा १० देखि १२ दिनसम्म नै कठिन हुनसक्छ।’

    ‘जुन बिरामीले कुनै चिन्ताजनक लक्षणबिना १४ दिन कटाउँछन्, उसले कोभिडको जोखिमबाट पार पाउने सम्भावना बढी हुन्छ,’ न्यूयोर्क टाइम्समा उल्लेख छ। न्यूयोर्क विश्वविद्यालयका सहायक प्राध्यापक डा. लियोरा होर्विजको अनुभव पनि यस्तै छ।

    ‘अरू रोगमा एक साता बिरामी परेपछि अब ठिक भयो, अब सुधार होला भन्ने लाग्नसक्छ, तर कोभिडमा त्यस्तो हुँदैन,’ डा. होर्विजले न्यूयोर्क टाइम्ससँग भनिन्, ‘यसमा एक सातापछि फेरि लक्षण चर्को भएर बिरामी चिन्ताजनक अवस्थामा पुग्नसक्छ। त्यसैले, लक्षण देखिएको पहिलो साताको अन्त्य र त्यसपछि दोस्रो सातामा बिरामीले विशेष ध्यान दिनुपर्छ। लक्षण छैन भन्दैमा कोभिडबाट निको भएँ भनेर ढुक्क हुनु हुँदैन।’

    दोस्रो सातापछि पनि कोभिडका बिरामीलाई थकान र शारीरिक कमजोरी हुनु सामान्य भएको उनी बताउँछिन्। डाक्टरहरूको अनुभवले के देखाउँछ भने, दोस्रो सातामा प्रवेश गर्दा कतिपय कोभिड बिरामीलाई गम्भीर खालको निमोनियाले गाँजेको पाइएको छ। त्यस्ता बिरामीको छाती एक्सरे गर्दा दुवै फोक्सोको तल्लो तहमा काला धब्बाहरू देखिएका छन्। निमोनिया भइसकेका यस्ता बिरामीमा पनि अक्सिजनको मात्रा थाहा नपाउने गरी विस्तारै तल झरेको हुनसक्छ।

    दिनको पाँच–छचोटि अक्सिमिटर लगाएर ननाप्ने हो भने आफ्नो शरीरमा अक्सिजन कम हुँदै गएको बिरामीले नै पत्तो नपाउन सक्छन्। अक्सिजनको मात्रा खतरनाक विन्दुमा पुगिसकेपछि बल्ल बिरामीलाई सास फेर्न कठिनाइ हुन्छ र उसलाई तुरुन्तका तुरुन्त आइसियूमा राख्नुपर्ने हुन्छ।

    यो समय सम्भावित जोखिमबाट बच्ने सबभन्दा राम्रो उपाय नियमित अक्सिमिटरको प्रयोग नै हो। शरीरमा अक्सिजनको मात्रा सामान्यतया ९६ देखि ९९ सम्म हुन्छ। यो घटेर ९२ भन्दा तल झर्‍यो भने बिरामी सतर्क हुनुपर्छ।

    यस्तो अवस्थामा फोक्सोमा अक्सिजन प्रवाह बढाउन बिरामीले उत्तानो सुत्नु हुँदैन। उत्तानो सुत्दा फोक्सोमा अक्सिजन प्रवाह कम हुन्छ। घोप्टो परेर सुत्दा अक्सिजन प्रवाह बढ्छ। दायाँ–बायाँ कोल्टो परेर सुत्दा वा कुर्सीमा सिधा बस्दा पनि बिरामीलाई सजिलो हुन्छ। अक्सिमिटर नभएको अवस्थामा अक्सिजनको मात्रा नाप्ने केही सरल विधि छन्। त्यसमध्ये एउटा विधि सास थामेर एक देखि ३० सम्म गन्नु हो।

    यो विधिअनुसार बिरामीले सबभन्दा पहिला जतिसक्दो लामो सास तान्नुपर्छ। त्यसपछि सास थामेर एकदेखि ३० सम्म गन्नुपर्छ। जसले सास थामेर १० सम्म पनि गन्न सक्दैन, उसको शरीरमा अक्सिजनको मात्रा ९५ भन्दा तल झरेको हुनसक्छ। जसले ७ सम्म गन्न सक्दैन, उसको शरीरमा अक्सिजनको मात्रा ९० भन्दा कम हुनसक्छ।

    यो विधि प्रमाणित भने होइन। यसले वास्तविक नतिजा नदिन सक्छ। कोभिड बिरामीका सन्दर्भमा यो विधि प्रभावकारी छ कि छैन भनेर अध्ययन पनि भएको छैन। अब हामी कोभिड–१९ का लक्षणको टाइमलाइन हेरौं। यो सर्वमान्य नियम भने होइन, बिरामीअनुसार लक्षण देखिने समय फरक हुनसक्छ। त्यसैले, लक्षण सुरू भएको दिनबाट कम्तिमा दुई साता आफ्नो शरीरमा देखिने परिवर्तनहरू मिहिन केलाउने र चिकित्सकसँग परामर्श लिनु सबभन्दा उत्तम उपाय हो।

    दिन १ देखि ३

    पहिलोदेखि तेस्रो दिनसम्म देखिने कोभिड–१९ का प्रारम्भिक लक्षण व्यक्तिअनुसार फरक हुन्छ। सामान्यतया घाँटीको खसखस, खोकी, ज्वरो, टाउको दुखाइ वा छाती भारी भएर आउनु कोभिड–१९ का प्रारम्भिक लक्षण हुन्। कहिलेकाहीँ पखाला पनि लाग्नसक्छ। कुनै बिरामीले अत्यधिक थकान महशुस गर्न सक्छन्। कसैको स्वाद र सुँघ्ने शक्ति हराउनसक्छ। धेरै व्यक्तिलाई यीमध्ये थुप्रै लक्षण देखिए पनि ज्वरो नआउन सक्छ। पेटको समस्या देखिएका कतिपय बिरामीमा श्वासप्रश्वासका लक्षण पनि देखिन सक्छन्, तर सबैलाई यस्तो हुँदैन।

    दिन ४ देखि ६

    चौथोदेखि छैठौं दिनसम्म अधिकांश बिरामीलाई सामान्य लक्षण मात्र देखिन्छ। कतिपयलाई लक्षण नै नदेखिन सक्छ। केही बिरामी भने ज्वरो, खोकी र जीउ दुख्ने समस्याले थला पर्छन्।

    कतिपय केटाकेटी र युवाहरूको जीउमा राता दाग देखिन्छन्। हातखुट्टाका औंला सुन्निन्छन्। यस्तो लक्षण कुन अवधिमा देखिन्छ भनेर ठ्याक्कै भन्न कठिन छ। कतिपयमा प्रारम्भिक तीन दिनभित्रै देखिएका छन् भने कतिपयमा त्यसपछि।

    दिन ७ देखि ८

    यो कोभिड–१९ संक्रमणको पहिलो चरण हो। अधिकांश बिरामी यो अवधिसम्म आइपुग्दा सबै लक्षण हराएर तंग्रिन्छन्। तर, लक्षण हराए वा बिरामी तंग्रिए भन्दैमा कोभिडबाट मुक्ति पाइयो भन्ने होइन। कतिपय अवस्थामा लक्षण केही नभए पनि सातदेखि आठ दिनपछि बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएको पाइएको छ।

    त्यसैले, सात दिनपछि बिरामीको अक्सिजन मात्रा कति छ र अरू के–कस्ता लक्षण छन् भनेर मिहिन हेर्नुपर्छ। सामान्यतया कोभिड बिरामीले ढुक्क हुन १० दिन कुर्नुपर्छ। दस दिन बित्दा पनि शरीरमा अक्सिजनको मात्रा सामान्य छ र अन्य लक्षण छैनन् भने बल्ल उसले कोरोनाबाट पार पाउने सम्भावना बढ्छ।

    यो दुई दिनको बीचमा कोभिड बिरामीको अवस्था आनका तान फेरिनसक्छ। पहिलो साता सन्चो हुँदै गएकाहरू एकाएक थला पर्न सक्छन् भने कसैको अवस्थामा सुधार आउन सक्छ। यसका लागि बिरामीको शरीरमा अक्सिजनको मात्रा नियमित नाप्न डाक्टरहरूले सिफारिस गरेका छन्। यो अवधिमा जसको अक्सिजन मात्रा जोखिमपूर्ण अवस्थामा पुग्छ, उसले तुरुन्तै अस्पताल भर्ना भएर उपचार गराउनु जरुरी छ।

    दिन ८ देखि १२

    दोस्रो साता पनि बिरामीको अवस्था नियमित जाँच गर्नुपर्छ। अक्सिजनको मात्रा ९२ भन्दा कम छ भने सास फेर्न कठिनाइ नहोस् भनेर घोप्टो वा कोल्टो परेर सुत्नुपर्छ। यसो गर्दा फोक्सोमा अक्सिजन प्रवाह बढ्छ।

    ‘बिरामीको स्वास्थ्यमा सुधार आउँछ कि अझ खराब हुँदै जान्छ भन्ने कुरा ८ देखि १२ दिनमा प्रस्ट हुन्छ,’ माउन्ट सिनाइ नेशनल जुइस हेल्थ रेस्पिरेटरी इन्स्टिच्यूटका निर्देशक डा. चार्ल्स ए पाओललाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘पहिला सुधारोन्मुख देखिएका बिरामी पनि ८ देखि १२ दिनमा गम्भीर अवस्थामा पुगेका छन्। यो बेला अक्सिजनको मात्रा कम हुने, सास फेर्न गाह्रो हुने र खोकी बढ्दै जाने समस्या देखिन सक्छ।’

    ‘नियमित अक्सिमिटर प्रयोग गरेर बिरामीको अवस्था जाँच्ने हो भने कुन बेला अस्पताल पुर्‍याउनुपर्छ भन्ने थाहा हुन्छ। अन्यथा, घरमै राखेर डाक्टरको परामर्शमा उपचार गर्न सकिन्छ,’ डा. पाओलले भने।

    दिन १३ देखि १४

    दोस्रो साताको अन्त्यसम्म आइपुग्दा सामान्य लक्षण देखिएका बिरामी निको हुन सक्छन्। दुई साता बित्दा पनि अक्सिजनको मात्रा सामान्य रह्यो, ज्वरो सामान्य रह्यो र अन्य लक्षण देखिएनन् भने उसले कोरोना संकटबाट पार पाउन सक्छ।

    जुन बिरामीमा गम्भीर लक्षणहरू छन्, तर शरीरमा अक्सिजनको मात्रा सामान्य छ भने दुई सातापछि उसको स्वास्थ्यमा सुधार आउन सक्छ। यस्तो अवस्थामा बिरामीले थकान वा कमजोरी महशुस गर्नु सामान्य भएको डाक्टरहरू बताउँछन्। त्यस्ता बिरामीलाई केही दिन आराम गरेर मात्रा सामान्य दिनचर्यामा फर्कन डाक्टरहरूले सुझाएका छन्।

    त्यस्तै, जुन बिरामीमा लक्षण पनि गम्भीर थियो र अक्सिजनको मात्रा एकदमै कम भएर श्वासप्रश्वास निम्ति कृत्रिम अक्सिजन चढाउनुपरेको थियो, उनीहरूलाई राम्ररी निको हुन लामो समय लाग्न सक्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ