• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महामारी बढेकै समयमा भारतले नेपालमाथि लगायो यस्तो प्रतिबन्ध, के हेरेर बसेको छ ओली सरकार ?

    5.8K
    SHARES

    काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण बढेको बेला भारतले अक्सिजन पठाउन बन्द गरिदिएको छ । भारतमा पनि महामारीले भयंक रुप लिएपछि मोदी सरकारले अक्सिजनमाथि अघोषित प्रतिबन्ध लगाएको हो ।

    तर यता नेपाल सरकारले भने जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने दाबी गरेको छ । भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

    अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उनले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताए । अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ ।

    सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ । सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले बताएका छन् ।

    उद्योगीहरुले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन् । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक सङ्घको भनाइ छ ।

    नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् । ५ ठूला उद्योगसँग झण्डै १२ हजार र अरु उद्योगसँग २ हजारका दरले अक्सिजन सिलिन्डर छन् । देशभर ९० हजार सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन ।

    यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो ।

    तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ । अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।

    यसैबिच बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।

    काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्‍याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

    लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे ।

    लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए ।

    नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।

    ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार अघिल्ला दिनहरुको तुलनामा यात्रुहरुको चाप बढेको छ । तर अहिलेसम्म तथ्यांक अद्यावधिक भइनसकेको उनले बताए ।

    संक्रमण बढेपछि फेरि मुलुक लकडाउनउन्मुख भएको छ । दोस्रो लहरको संक्रमण बढेपछि संक्रमणको ‘चेन’ ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या अब ९ पुगेको छ ।

    यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ । सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    भारतले विदेशबाट अक्सिजन आयात गर्ने

    भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन आयात गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक भएपछि चुलिएको अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट आयात गर्ने भएको हो ।

    दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ । अक्सिजन मगाइएको ट्याङ्कर आज दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।

    मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन् । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उनको भनाइ छ ।

    दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताए । ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने उनले बताए ।

    भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ । अक्सिजनको अभावमा त्यहाँ दैनिक सैयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले बताएका छन् ।

    भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २ लाख १ हजार १६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ६२ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार सातौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४८ लाख ७ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    उता अमेरिकामा पूर्ण खोप लगाइसकेकाहरूले बाहिर हिँडडुल गर्दा मास्क लगाउन नपर्ने भएको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा सानो समूहमा रहँदा मास्क लगाउन नपर्ने अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले घोषणा गरेको छ ।

    तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन पर्ने सीडीसीले जनाएको छ । हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन्।

    उनले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् । उक्त घोषणापछि उनी ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए । महामारीविरुद्ध लडाइँमा अमेरिकाले सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ