• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    कुशल भुर्तेलले उछिने विराट कोहलीलाई

    190
    SHARES

    २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन् । नेदरल्यान्डस्विरुद्ध ७७ रन बनाएपछि भारतका कप्तान विराट कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका हुन् ।

    यस सुचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् ।

    यस वर्ष सर्वाधिक टी–२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका हुन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाएका छन् । त्यसैगरी बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् । डिपी कनवेले ८ खेलमा ७ इनिङ्ग्स खेल्दै २ सय ९९ रन बनाएका छन् । भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् । भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन् ।

    आईसीसीको शीर्ष १०० मा

    काठमाडौंमा जारी त्रिदेशिय टी-२० अन्तर्रांष्ट्रिय शृंखलामार्फत नै टी-२० डेब्यु गरेका भुर्तेल यो प्रतियोगिता नसकिदैं स्टार ब्याट्सम्यान बनिसकेका छन् ।

    उनी टी–२० खेलमा आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल एकमात्रै नेपाली ब्याट्सम्यान हुन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।

    त्यस्तै ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

    नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।

    उत्कृष्ट बलिङ

    डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपाली बलरहरूले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गरे । नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको सुरुवात राम्रो हुन सकेन । नेपारल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।

    चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौ ओभरको पाँचौं बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।

    छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए । विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो ।

    त्यसपछि पनि नेपाल बलरहरुले नेदरल्याण्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा अविनाश बोहोराका नाममा एक विकेट रहृयो ।

    कुशलको उत्कृष्ट प्रदर्शन जारी रहँदा अर्का कुशलको अर्धशतक

    त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

    ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

    कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ