• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    यी हुन् पक्राउ परेका सात नक्कली डाक्टर, काे-कहाँ कार्यरत थिए ?

    2.1K
    SHARES

    काठमाडौं । प्रहरीले सात जना नक्कली डाक्टरलाई पक्राउ गरी साेमबार सार्वजनिक गरेकाे छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएकाे छ ।

    पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ संझनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका-२ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो-६ घर भएका धनुषा जनकपुर महानगरपालिका-७ जिरोमाईल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका-२ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका-५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा रहेका छन् ।

    यस्तै मनाङ साविक चामे गाविस-५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका-३ बरगाछी बस्ने सप्तरी सकरपुरा-१ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी-२ आदर्श बस्ती बस्ने महोत्तरी मनरा-५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ पनि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक विराटनगरकाे न्यूरो अस्पतालमा कार्यरत थिए भने १ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत थिए । यस्तै २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत थिए । अन्यकाे खुल्न बाँकी छ ।

    शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको लागि एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिई आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

    उनीहरुमाथि लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ ।

    यसैबीच उता भेरी अस्पतालले आजदेखि कोरोना संक्रमितको संख्या बढेपछि लक्षण भएका व्यक्तिलाई चिकित्सकले सिफारिस गरे मात्र नि:शुल्क पिसिआर परीक्षण गर्ने जनाएको छ।

    अस्पतालमा कोभिड-१९ को जाँच गराउन आउने व्यक्तिहरुको चाप बढिरहेको तर परीक्षणका लागि चाहिने एक्ट्रयाक्सन कीट र अन्य रिएजेन्ट पर्याप्त मात्रामा नभएकाले यस्तो निर्णय गरिएको बताइएको छ।

    अस्पताल विकास समितिले नि:शुल्क परीक्षण आर्थिक हिसाबले दीगो हुन नसकी परीक्षण बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेरी अस्पतालको ओपिडी वा इमरजेन्सीमा खटिएका चिकित्सकले पिसिआर गर्न सिफारिस गरे मात्र नि:शुल्क परीक्षण गर्ने निर्णय गरेको हो।

    अन्य सेवाग्राहीले स्वेच्छिक रुपमा पिसिआर परीक्षण गराउन चाहेमा एक हजार शुल्क लाग्ने समेत निर्णय गरेको बताइएको छ।
    तीमध्ये भेरी अस्पतालमा ८६ जना संक्रमित उपचाररत छन्। अस्पतालका अनुसार ८६ संक्रमितमध्ये ३२ जना आइसियुमा र ६ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

    यता सरकारको कोरोना संक्रमण फैलिएको शहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम तथा तालिम संचालन गर्न नपाइने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दै गएका ठूला सहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर तथा तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ठूला शहरहरु काठमाडौं, ललितपुर, भक्तपुर, बिराटनगर, विरगञ्ज, भरतपुर, पोखरा, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराई, तुलसीपुर, नेपालगञ्ज, धनगढी, मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, विरेन्द्रनगर, भिमदत्तनगरमा रहेका शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित भइ संचालन गर्न नपाइने निर्णय गरेको छ।

    मन्त्री गुरुङका अनुसार यी सहरका शैक्षिक संस्थाले शैक्षिक गतिविधि तथा कक्षा संचालन भर्चुअल माध्यमबाट संचालन गर्ने व्यवस्था मिलाउनुपर्ने आदेश जारी गरिएको छ। तर, यसअघि नै निर्धारण भैसकेका विद्यालय तथा क्याम्पसका परीक्षा तथा चिकित्सा शिक्षा तर्फका अध्ययन जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया