• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज सार्वजनिक विदा दिने सरकारको निर्णय

    449
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ ।

    चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

    यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

    यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

    गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

    यसैबीच उता कोरोनाभाइरस (कोभिड-१९) को त्रासलाई भुलेर भक्तपुरवासी बिस्काः जात्रामा रमाएका छन् । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो ।

    प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश दिएको थियो ।

    शनिबार जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । जात्रा गर्न पाउँदा खुसी देखिएका उनीहरुमा कोरोनाको त्रास कमै देखिन्थ्यो ।

    हजारौंको भीडमा न भौतिक दूरी कायम गर्न सम्भव थियो, न सबैले मास्क नै लगाएका थिए । बरु बालबालिकादेखि वृद्धवृद्धाको समेत उल्लेख्य सहभागिता थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ