• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपाल पत्रकार महासंघको मतगणना सुरु, कस्तो आयो प्रारम्भिक नतिजा ?

    555
    SHARES

    काठमाडाैं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएको छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि पहिलो पटक केन्द्रीय समितिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको हो ।

    बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मदतान सकिएलगत्तै बिभिन्न जिल्लामा मतगणना सुरु भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार बिभिन्न जिल्लामा जारी मतगणनामा बिपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । उपत्यका प्रदेशमा बिपुल पोखरेल प्यानलकै श्रीजन झा नेतृत्वको टीमले अग्रता लिएको छ । यसबारेमा हामीले निरन्तर अपडेट दिनेछौं ।

    निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत खसेकाे छ । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको थियो ।

    केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले बताए । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।

    केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।

    महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।

    महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।

    नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया