काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २.८५ अंकले घटेको छ । ०.११ प्रतिशतले घटेपछि नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ। मंगलबार २६७४ अंकमा रहेर नेप्से ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
बुधबार भने सामान्य गिरावट आएको हो । आज बैंकिङ समूह ५.२३ अंकले बढ्यो । होटल तथा पर्यटनमा २३२ अंकको वृद्धि भयो । विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन् । व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ ।
पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्च वृद्धि रह्यो । आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ ।
आज कुल ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो । यो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ ।
यस्तै नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज छापावाला सुन प्रतितोला ५०० रूपैयाँले वृद्धि भइ ८८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज ८७ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १२४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया