• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    स्वास्थ्यमन्त्रीले भने- फेरि लकडाउन गर्ने योजना छैन

    1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए ।

    लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

    ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ’ उनले भने ।

    छिमेकी मुलुकमा कोभिड-१९ को नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

    ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन’ उनले भने ।

    अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार शुरु हुने पनि उनले जानकारी दिए ।

    जेठ-असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्नसक्छ

    सरकारले आगामी जेठ-असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

    आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उनले भने ।

    यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

    माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।

    पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले अगाडि भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’

    उनका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले भने, ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।’ मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया