• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, दिगो विकासका एजेन्डामा छलफल हुने

    448
    SHARES

    काठमाडौँ । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । श्रीलङ्काले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक अपराह्न ३ बजे शुरू हुनेछ ।

    बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् । बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

    यस्तै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कामको ठोस योजना पनि यो बैठकले तय गर्ने जनाइएको छ ।

    यसअघि बुधबार भर्चुअलरूपमा सचिवस्तरीय बैठक बसेको थियो । बैठकले आज भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको बैठकमा बोल्दै परराष्ट्र सचिव भरत पौड्यालले सन् २०१८ को अगस्टमा नेपालमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका निर्णय र त्यसपश्चात् भएका अन्य उच्चस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन सफलताको बाटो उन्मुख रहेको बताएका थिए ।

    बैठकमा सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयबारे छलफल गरेको थियो । सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बङ्गाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो ।

    यस क्षेत्रमा शिक्षामा सबै जनताको पहुँच पुर्‍याउने, भौगोलिक आबद्धतालाई बलियो बनाउने, प्राकृतिक र मानवीय स्रोत साधनको आदानप्रदान तथा बहुसांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बढावा दिँदै विकास र समृद्धिमा रुपान्तरण गर्ने विषयमा साझा अवधारणा प्रस्तुत गरिएको थियो ।

    नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

    बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ