• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    हङकङबाट काठमाडौंका लागि उडेको विमान अन्तै पुग्यो, तर कहाँ ?

    1K
    SHARES

    काठमाडौं । मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले बतायो ।

    वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

    झन्डै २ घण्टासम्म बिमानस्थल बन्द हुँदा हङकङबाट आएको क्याथे ड्रागमनको विमान डाइभर्ट गरेर दिल्ली पठाइएको छ । नेपाल एयरलाइन्स र हिमालय दमाद लगायतका केही विमानहरुलाई आकाशै होल्ड गर्नुपरेको थियो । यस्तै आन्तरिक उडान तर्फका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको थियो भने अहिले पुन सुचारु भएको छ ।

    शुक्रबार मध्यान्हसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महशुस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो भने तापक्रममा कमी आयो । वायुमण्डल धुमिल हुन पुग्यो । दृश्यमानता अर्थात भिजिबिलिटीमा कमी आएपछि उडान अवतरण ठप्प हुन् पुगेको हो ।

    उसाे त काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् । केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ ।

    सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

    विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

    मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढ्न गएको हो । बिहीबार एकैदिन ४७९ स्थानमा डढेलो लागेको थियो । डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले काठमाडौंको वरिपरीका सबै जिल्लामा डढेलो लागेको र पश्चिमबाट बगेको वायुले सोहोरेर काठमाडौं ल्याएकाले प्रदूषण बढेको बताए ।

    ‘लामटाङ निकुञ्जमा लागेको डढेलोको धुवाँ काठमाडौंसम्मै आएको देखिन्छ’, शुक्रबारदेखि गृह मन्त्रालय मातहतको ‘राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यस्थापन प्राविधिकरण’मा डढेलोविज्ञका रुपमा खटिएका शर्माले भने, ‘प्रदूषणमा धुवाँ मिसिएकाले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।’

    जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले प्रदूषणका कारण भिजिबिलिटीसमेत घटेको जानकारी दिए । ‘वर्षा नभएसम्म यो प्रदूषणको तह घट्दैन’ उनले भने ।

    लामटाङमा सन् २०१२ मा पनि ‘क्राउन फायर’ भएको थियो । त्यसले काठमाडौंसम्मै प्रदूषण बढाएको थियो । शर्माका अनुसार शुक्रबार पनि ५४ जिल्लाको ४३७ स्थानमा डढेलो लागिरहेको छ ।

    काठमाडौंमा केही दिनयता काठमाडौं बाहिर पनि प्रदूषण बढेको छ । केन्द्रका अनुसार धनकुटामा १८१, दमकमा १८४, पोखरामा १५३, हेटौंडामा १०२, महेन्द्रनगरमा १३९, धनगढीमा १३८, विराटनगरमा १०५, नेपालगञ्ज ९७ छ ।

    काठमाडौंमा वायु प्रदूषणको मात्रा डब्लूएचओको मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ ।

    सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर, काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । पुसपछि शुक्रबार फेरी काठमाडौं विश्वका ९४ सहरमध्ये पहिलो प्रदूषित सहर हुन पुगेको छ ।

    सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । केन्द्रका अनुसार शुक्रवार भैंसेपाटीमा पीएम १० को मात्रा ३८० माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । २.५ को हानिकारक कणको २१६ माइक्रोग्राम पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ ।

    ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

    वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

    वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । ‘साना कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छन्,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

    काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाा, इाटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धुवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया