• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँ उपत्यकामा लागु भयो यस्तो नयाँ नियम

    24.9K
    SHARES

    काठमाडौँ । पछिल्ला दिनहरुमा विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

    त्यस्तै पछिल्ला केहि दिन यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना महामारको जोखिमलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले भीडभाड हुने कार्यहरू नगर्न भनेको हो।

    ‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो।

    काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ। ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ।

    बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो।त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरूको व्यवस्था मिलाउन भनिएको छ।

    पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो। त्यही परिपत्र अनुसार ललितपुरले अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा लगाउने निर्णय गरेको छ।

    उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा बढी मानिस भेला हुने कार्यक्रममा कडाइ गरेको छ ।

    जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गरेका छन्।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको सूचनामा धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।

    कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

    ‘यसबाहेकका सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको आदेशमा उल्लेख छ, ‘तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।’

    ज्वरो आएका यात्रुहरुको औलोको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिीजन परीक्षण गर्नु पर्नेछ। सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ।

    यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ। प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाइएको छ।

    भारतले अब कोरोना भाइरस विरुद्धको खोप नेपालाई नदिने

    भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।

    भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।

    भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्। भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

    भारतले यो कदम किन चाल्यो?

    भारतभित्रै कोरोनाभाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको छ। यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखियो जसमा ४७,००० भन्दा बढी नयाँ सङ्क्रमित छन् भने २७५ को मृत्यु भएको छ।

    भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्। “निर्यात रोक्ने अस्थायी उपाय हो। घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ,” बीबीसीका सौतिक विश्वासलाई विदेशमन्त्रालयका एकजना स्रोतले भन्यो।

    उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ।

    विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीवार यता भारतले कुनै निर्यात गरेको छैन। “बाँकी सबै कुरा कम्तीमा अहिलेका लागि रोकिएको छ,” मन्त्रालयका एक स्रोतले रोयटर्स समाचार संस्थालाई भनेका छन्। “भारतको अवस्था स्थिर नहुँदासम्म कुनै निर्यात हुँदैन।” निर्णयबारे सरकार वा एसइइका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्।

    पृष्ठभूमि के हो?

    एसआइआइ – विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी – ले यसअघि नै आस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ। गत साता, बीबीसीले ५० लाख खोप पठाउन चार साताका लागि रोकिएको भनेर समाचार लेखेको थियो।

    एसआइआइका प्रवक्ताले त्यतिबेला भनेका थिए, “सरकारको खोप कार्यक्रमको आवश्यकता र तत्कालको अवस्था हेरेर हामी पछि आपूर्ति गर्ने कोसिस गर्छौं।” एसआइआइले निम्न र मध्यम आय भएका देशहरूका लागि यो वर्ष एक अर्ब खोप उत्पादन गर्ने जनाएको छ।

    अनि ज्यानुअरीमा उसले महिनाको छ करोडदेखि सात करोडसम्म खोपहरू बनाउन सक्ने बताएको थियो। यो सङ्ख्यामा आस्ट्राजेनेका र अमेरिकामा विकसित तर भारतमा प्रयोगका लागि अनुमति पाउन बाँकी रहेको नोभाभ्याक्स खोप पर्छ।

    ज्यानुअरीमै एसआइआइले बीबीसीसँग मार्च महिनाबाट प्रति महिना १० करोड खोपको मात्रा बनाउने उद्देश्य राखेको बताएको थियो। यद्यपि, हालै गरिएको जाँचले छ देखि सात करोड मात्रामा नै बनिरहेको र त्यसमा वृद्धि नभएको थाहा भएको थियो।

    भारतीय सरकारले ज्यानुअरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ।

    अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो। बीबीसी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया