काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द ‘विप्लव’ ले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।
‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’ आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।
‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०÷१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’
प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’
अहिले जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उनले भने ।
प्रतिक्रिया