• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    हस्ताक्षर सभालाई सम्बोधन गर्दा गर्दै यसरी भावुक बने विप्लव, बाेल्दा बाेल्दै राेकिए, हेर्नुहोस भिडियोसहित

    3.3K
    SHARES

    काठमाडाैं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले काठमाडाैंको राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर सभलाई सम्बोधन गर्दै शहिदहरुलाई सम्झिए । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा ओलीसंगै झुल्किएका विप्लव सभालाई सम्बोधन गर्दा गर्दै भावुक बने ।

    आफुलाई काठमाडाैं आउनुअघि सहिद परिवारले विदा गर्ने क्रममा भनेको कुरा सम्झिएर मञ्चमा महासचिव विप्लवको गला अबरुद्ध भयो । उनले भने- ”एउटा संयोग पनि आजै पर्यो – हामी एउटा गाउँमा बस्दै गर्दा हामीलाई सहिदकी आमाले टीका लगाइदिनुभयो र उहाँले भन्नुभयो, आजसम्म धेरैका सपना पूरा भए तर, सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुःखगरी खाने नेपालीहरुको चाहना पूरा भएको छैन । त्यसैले तपाईहरु त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला ।” यति भन्दा विप्लव निक्कै भावुक बनेका थिए । र उनको गला अबरुद्ध बनेको थियो ।

    मञ्चमा आफुलाई सम्हाल्दै उनले अगाडि भने- ”हामीलाई उहाँको कुरा सुन्दा हामीले भन्नुपर्ने हुन्छ, हामीभित्र एउटा भावना उम्लिने गर्छ, जुन उद्देश्य लिएर हामी कम्युनिष्ट आन्दोलनमा होमियौं, हाम्रा अग्रजहरु होमिनुभयो । दुःख, नपाउने कम्युनिष्ट नेता छैन । मृत्युको नजिक नपुगेर फर्केको नेता पनि छैन । सबैभन्दा कठिन परिस्थिति र कठिन समय नझेलेको हामीसँग एउटा पनि नेता छैन ।

    त्यसैले यो अवसरमा हामी सबै आदरणीय सहिदहरुलाई सम्मान गरौं । सहिद परिवारहरुलाई जानकारी गराऔं कि हामी जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, हाम्रो जीवनलाई बलिदान गर्छौं, तर सहिदका सपना मर्न दिदैंनौं । हाम्रो त्योे एउटा प्रतिवद्धता छ मित्र, त्यो लिएर म तपाईहरुको बीचमा उभिएको छु । बेपत्ता र घाइतेको कुरा गर्नुस्, परिवर्तनको आन्दोलनमा घाइते भएर बसेका योद्धाहरुको कुरा गर्नुस् । हामीले सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ र, उनीहरुका चाहनालाई पूरा गर्ने प्रतिवद्धता गर्नुपर्छ ।”

    विप्लवले सम्बोधन गरिरहँदा राष्ट्रिय सभा भित्र हल र बाहिर उनलाई स्क्रिनबाट हेरिरहेका उनका समर्थकले हुटिंङ गरिरहेका थिए । महासचिव विप्लवले अहिलेको सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको या केहि नेताको मात्रै कुरा नभएको भन्दै यो सहमतिभित्र उटा महान् आकांक्षा लुकेको बताए । उनले नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने सपना यो सहमति भित्ररहेको प्रष्ट पारे ।

    उनले भने -”यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै कुरा होइन । यो सहमति केवल पार्टीको मात्रै र केही नेताहरुको मात्रै कुरा होइन । यो सहमतिभित्र हाम्रो लुकेको एउटा महान् आकांक्षा छ– नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने हाम्रो सपना यो भित्र छ ।

    यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको सपना र नेपालका युवाहरुमा हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा गर्नका लागि हामीले जसरी सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग पायौं, त्यसमा खुसी छौं र धन्यवाद् दिन चाहन्छौं ।”

    विप्लवले अध्याँरो परिवेशमा उज्यालोको सपना देखेर झापाको सुखानीको जंगलमा पाँचजना अग्रजहरुले रगत दिएको प्रसंग पनि सम्झिए । उनले भने- ‘अध्याँरो परिवेशमा उज्यालोको सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँचजना अग्रजहरुले रगत दिएका थिए । उनीहरुले आफ्नो जीवनलाई नेपाली जनता र नेपालका लागि सहर्ष समर्पित गरेका थिए । उहाँहरुले नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो । त्योसँग जोडिएको यो दिन, जसलाई हामी सहिद सप्ताह भनेर मनाउने गर्छौं । जनयुद्धमा फागुन १४ मा बलिदानी गर्ने दिलबहादुर रम्तेल र झापाको जंगलमा झुन्डिन र गोली खान तयार पाँचजना अग्रजहरुको सहित जोडेर नेपाली परिवर्तनकारी सहिदहरुको स्मृतिमा हामी सहिद सप्ताह मनाउने गर्छौं ।’

    सम्बोधनका क्रममा उनले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई नसम्झि रहन सकेनन् । ”अहिले पनि हाम्रा डेढ सयभन्दा धेरै कमरेडहरु जेलमा हुनुहुन्छ । छुट्नु पनि भएको छ । कमरेड ओम चन्द छुटेर अहिले यहाँ आउनु भएको छ । उहाँलाई म यहीँबाट स्वागत गर्न चाहन्छु । हाम्रा धेरै साथीहरु छुट्नुहुनेछ भन्ने मलाई विश्वास छ, यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।” उनले भने ।

    कम्युनिष्टले आफ्ना मान्यताहरुमा घात भएको, आफ्नो देशमाथि अतिक्रमण वा हस्तक्षेप भएको महसुस हुँदावा आफ्नो देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा विद्रोह गर्दै आएको स्मरण गर्दै विप्लवले आफुहरु पनि विद्रोह गर्ने मान्छेहरु भएको भन्दै विद्रोह गर्दै अहिले यहाँसम्म आएको प्रष्ट पारे ।

    ”तर कम्युनिष्टहरु विद्रोहमात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्था कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धामात्रै होइनन्, शान्तिका दूत पनि हुन्, यो संसारमा कोही छ भने कम्युनिष्ट नै छन् ।” उनले भने -”सम्पूर्ण उत्पीडितलाई मिल्काएर न्यायपूर्ण समाज स्थापना गर्ने विचार, दृष्टिकोण र आकांक्षा कम्युनिष्ट आन्दोलनसँग छ । त्यसैले त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौं र आजको परिवेश बदलिएपछि हामीले ३ बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ भनेका छौं । यसलाई हामी पालना गर्छौं । यहाँ कसैले कहीँबाट पनि आशंका र विभिन्न ढंगले यसलाई उत्तेजनक वा अर्को ढंगले कुतर्क गर्न जरुरी छैन ।”

    सरकारसंग भएको ३ बुंदे सहमति पालना गर्न आफ़ुहरु प्रतिबन्द्ध रहेको प्रष्ट पार्दै विप्लवले नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको छ बताए । उनले सोहि प्रसंगमा कर्णालीतिर गाइने एउटा गीत समेत सम्झिए ।

    ”हामी यसबारे पहिलो पनि कुरा गथ्र्यौं । कर्णालीतिर एउटा गीत गाइन्छ – योे कस्तो प्रेम भयो, जुनको र घामको जस्तो, कहिले भेट नहुने’ भनेजस्तो ।जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्थ्यो । हामी त्यस्तै हुन लागेकोजस्तो पनि मानिसहरुले अनुमान गर्थे, तर जुन र घामको पनि भेट हुन्छ । यो अगाडि पनि हाम्रो कुरा भएको थियो । मैले इमानदारीपूर्वक प्रधानमन्त्रीसँग आफ्ना कुरा राखेको थिएँ । तपाईहरुले नेतृत्व गर्नुस्, हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं । हामी बनाउँछौं । त्यो बनाउने नेतृत्व हामी गरौं ।

    हाम्रो छलफल चलेको थियो । आज हामी नयाँ परिवेशबाट आएका छौं । नेपाली समाजको रुपान्तरण हुँदै आएको छ, हामी मान्छौं । ०७ सालदेखि अहिलेसम्म खण्ड खण्डमा नेपाली समाजको रुपान्तरण भइरहेको छ । तर त्यो पूर्ण भएको छैन । आज पनि नेपालका मजदूरहरुको स्थान कमजोर छ, आज पनि किसानहरुको स्थिति बेहाल छ, आज पनि दलित, महिला, जनजाति, मधेसी अथवा उत्पीडित समुदायहरु सन्तुष्ट छैन । हामी त्यो देख्छौं । त्यो परिवेशमा हाम्रो भनाइ, जनताको प्रतिनिधि अथवा श्रमजीवी वर्गको प्रतिनिधि हुनुको आधारले जहाँ जहाँ हाम्रो असहमति रह्यो, त्यो हामीले दृढतापूर्वक राख्यौं ।” उनले भने ।

    हेर्नुहोस भिडियो

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ