• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लव नेकपाका नेता-कार्यकर्तालाई रिहा गर्न गृह मन्त्रालयको सर्कुलर

    1.3K
    SHARES

    काठमाडौं । विद्रोहि नेपाल कम्युनिष्ट पार्टी नेकपा र सरकारबीच ३ बुँदे सहमति भएसँगै  गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको छ ।

    मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’ मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव नेतृत्व नेकपाका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।

    चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए । उनले भने ‘उहाँको मुद्दा नवलपरासीमा थियो, उपचारका लागि मात्र यहाँ राखेका थियौं ।’

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

    गृह मन्त्रालयले विप्लव नेकपाका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

    यस्तै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

    ‘शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’ राजनीतिक प्रतिबन्ध हटेसँगै खुला भएर अब विप्लवले आफ्नो राजनीतिक गतिबिधि अगाडी बढाउनेछन् ।

    नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध झन्डै २ बर्षपछि फुकुवा भएको हो । बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि सरकारी वार्ता टाेली, नेकपाकाे वार्ता टाेलीबाच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएसंगै प्रतिबन्ध पनि फुकुवा भएको हो ।

    बिहीबार सरकार र नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

    सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने जनाइएको छ ।

    सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकारले नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । फागुन २८ आउन ८ दिन बाँकी रहँदा ओली सरकारले नेकपामाथिको प्रतिबन्ध हटाएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ