• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कसैले हटाउन सक्छ भने हटाओस्, दुई तिहाइका साथ सिंहदरबार फर्किन्छु- ओली

    538
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

    तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । ‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।

    त्यस्तै ओलीले पशुपतिनाथको शिवलिंगमा जलहरी लगाउँदा आलोचना भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पशुपतिमा चाँदीको पुरानो जलहरी फेरेर सुनको राख्न खोज्दा बिरोध भएको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

    ‘कतिलाई त जे गरेपनि रिस उठ्छ। पशुपतिमा सुनको जलहरी राख्दा कतिलाई मन दुख्यो’, झापामा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले मेरो श्रीमतीलाई गहना बनाएर दिएको हैन नि ! पशुपतिमा शिवजीलाई दिएको हो। यसमा पनि आलोचना गर्छन्।’

    प्रधानमन्त्री ओलीले पशुपतिमा एक क्विन्टलको सुनको जलहरी राख्ने वाचा गरेका थिए । पुरातत्व र महत्वको उक्त क्षेत्रमा जलहरी राख्न नमिल्ने भनि सर्वोच्चमा मुद्दा दायर भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात जलहरी राखेका थिइन्। उनले जलहरी राखेकै दिन सर्वोच्चले अन्तरिम आदेश गरेको थियो ।

    यस्तै ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन् । परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “निष्कर्षले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत टेवा पुग्ने विश्वास छ ।

    वन, वातावरण क्षेत्रलाई कसरी अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उपयोगी हुने गरी निष्कर्ष आउनेछ र यसले सरकारलाई नीति निर्माणमा योगदान हुनेछ ।” सामुदायिक वन उपभोक्ता समूहको योगदान नभएको भए अहिले मुलुकका धेरै वनमा मरुभूमीकरण भइसक्ने जनाउँदै उनले ४५ प्रतिशत वन क्षेत्र मुलुकका लागि गौरवको विषय भएको र यो नेपालका लागि मात्र नभई विश्वका लागि नै महत्वपूर्ण रहेको बताए । वनको विविध उपयोगका लागि वन क्षेत्रलाई कृषि वनका रुपमा पनि विकास गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया