• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्ड-नेपाल समूहका सांसददेखि केन्द्रीय सदस्यसम्मलाई हटाइदिने ओलीको चेतावनी

    1.8K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने ओलीको चेतावनी छ । उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए ।

    उनले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड-नेपाल समूहलाई भाग दिएको दावी गरे । तर एकीकरण गरिसक्ने बित्तिकै उनीहरुले आफ्नो धन्दा सुरु गरेका ओलीको आरोप छ । पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको भन्दै आक्रोश पोखे ।

    ओलीले आफूहरु सही बाटो हिँडेको पनि बताएका छन् । ओलीले आन्दोलनमा उतारचढाव हुने भन्दै साना मसिना कुरामा नअल्झिई आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए ।

    सोमबार पोखरामा आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गरे । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो?,’ ओलीले प्रश्न गर्दै भने, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको ।

    तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’ प्रचण्ड–नेपाल समूहले कारबाहीको जेजति ‘तमासा’ गरेपनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रुपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौति दिए ।

    म माथि शारीरिक हमला हुन सक्छ

    प्रधानमन्त्री ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । उनले सोमबार पोखरामा नेकपा ओली पक्षको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

    ओलीले आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरू नेकपालाई ध्वस्त पार्न लागेको र आफूमाथि पनि प्रहार केन्द्रित भएको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । उनले तर त्यस्तो हुन नदिने र सतर्कता अपनाउने पनि बताए ।

    पार्टीको नेतृत्वमा रहेर पार्टीलाई अघि बढाइरहेको, सरकार प्रभावकारी र गतिशील ढङ्गले सञ्चालन गरिरहेको र विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित भएएको ओलीले बताए ।

    उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने र पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्त्वका मतियारहरूसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया