काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँगको वार्ताबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक धारणा बाहिरिएको छ । प्रधानमन्त्री ओलीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव नेतृत्वको नेकपाको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।
ओली सरकारसँगको वार्ता सफल भए अब बिद्रोही नेकपामाथिको प्रतिबन्ध हट्नेछ भने जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनेछन । प्रतिबन्ध कहिले हट्छ भन्ने बारेमा ठ्याक्कै मिति नै नतोकिए पनि भित्र भित्रै ओली र नेकपा प्रतिनिधिबीच यस बिषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
नेकपा महसचिव विप्लवले पनि आफुहरु वार्तामा आउन तयार रहेको बताएका थिए । महासचिव विप्लवले गत शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएका थिए ।
महासचिव विप्लवले विज्ञप्तिमार्फत क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको बताएका थिए ।
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’
प्रतिक्रिया