• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कुनै हालतमा पनि राजीनामा दिन्नँ- ओली

    1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दाबी गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेको भन्दै हिमालय टेलिभिजनको अनलाइन संस्करणले समाचार तयार पारेको छ ।

    उक्त टेलिभिजनको अनलाइन संस्करणले कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएको उल्लेख गरेको छ ।

    समाचारका अनुसार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास गरिरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो सम्भावना नरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

    म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्- प्रचण्ड 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् ।

    जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे ।

    कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्‍यो ।’

    ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी प्रचण्डले गरे। जेलमा बस्दा पनि ओलीले चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

    उनले भने, ‘केपीको क्षमता भनेकै त्यही हो। विचार इमान्दारमा कुनै क्षमता छैन। बेइमानी छलकपट बाहेक केही क्षमता छैन। जेलमा चाणक्य नीतिबाहेक केही पढेन छन् । शकुनी उनलाई धेरै मनपर्छ। शकुनी उनको मनपर्ने पात्र हो। त्यसैले शकुनीको भूमिकामा छन् उनी।’

    शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको आरोप लगाउँदै प्रचण्डले पार्टी एकता नभए पनि शिक्षक संगठन एकता नहुनुको दोषी ओली भएको बताए ।

    ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ । आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमतिबाट ओली पछि हटेको तथा समाजवाद उन्मुख पार्टीको अवधारणा बनाउन हस्ताक्षर गर्ने पहिलो नेता पनि ओली नै भएको प्रचण्डको टिप्पणी छ।

    बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै- माधव नेपाल

    नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् ।

    कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको नेता नेपालले बताए ।

    उनले भने,‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भंग गरिदिनुभयो । किन भंग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तिमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरी कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँ गर्नुहोस मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किदैन कोसिस गर्नुहोस ।’

    अध्यक्ष नेपालले केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले भने,‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन । त्यसो भएकोले तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस । अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर बरु जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

    अहिले प्रतिनिधि सभा पुन:स्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । उनले भने, ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’

    केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताएका छन् । ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाए । उनले भने, ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’

    बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए ।

    उनले भने,‘केपी ओली तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहिं छ बालुवाटारमा, बालुवाटार बाहिर कहिं नजाने मान्छे अहिले हेर्नुहोस त फुर्ति कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्या छ कुद्या छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पुरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृतिको कति पक्षपोशण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहिं निवास छ, बेडरुम छ, त्यहिं बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउनका लागि प्रचण्डले बैठक छोडेर जाने फेरी, कहिलेकाहिं हामीलाई पनि सँगै जाउँन भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ कि भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।’

    अहिले केपी ओलीलाई बिदा गरे जस्तै ओली प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने बताए । अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृत्ति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया