• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक

    2.4K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाइएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

    बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन। यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

    यस्तै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप शुरू भएको छ । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।

    आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

    प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए । ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले अनलाइनखबसँग भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’

    नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।

    सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।

    उपत्यका नछोड्न सांसदहरुलाई प्रचण्ड–नेपालको निर्देशन

    नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।

    उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो ।

    यस्तै प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका छन्। उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन्। अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए।

    ‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं। हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो र व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेको बताए। ‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो। तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ। हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ’, उनले भने।

    यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए। ‘पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ। ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन। अब हामीले एकताबद्ध भएर अघि बढ्नु पर्छ’, उनले भने।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला मंगलबार गरेको छ भने र १३ दिनभित्र बैठक राख्न भनेको छ। प्रचण्ड-नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

    मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन् ।

    बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए । यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो ।

    यता प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले उनले नैतिकतामा राजीनामा दिनुपर्ने माग उठिरहेको छ। प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्।

    बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछाड्ने स्पष्ट संकेत दिएका हुन्। ‘हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। यो संकल्प निरन्तर अगाडि बढ्छ।

    अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ ओलीले भने,‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।’ उनले आफू भ्रमहरूबाट मुक्त मान्छे भएको दाबी गर्दै सर्वोच्च अदालतको फैसलापछि पनि दुखित नभएको आशय व्यक्त गरे।

    ‘अप्ठेरो परिस्थिति होस्, सुख होस् दु:ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।’

    यसअघि ओली समूहका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने संकेत गरेका थिए। बालुवाटारमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै ज्ञवालीले देशको भावी दृश्य कस्तो हुन्छ भन्ने प्रष्ट नभएसम्म जिम्मेवारीबाट बाहिरिन नमिल्ने बताएका थिए।

    ‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया