• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

    4.6K
    SHARES

    काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

    ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।

    यसैबीच आफ्नो समूहले मुद्दा हारेपछि ओली समूहका नेता ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई चेतवानी दिएका छन् । ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने ।

    उपप्रधानमन्त्री समेत रहेका पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाउदै यस्तो चेतवानी दिएका हुन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए ।

    तर, लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताए । सर्वोच्चको फैसला प्रति असहमति रहेको जनाउँदै पोखरेलले भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं ।’

    सर्वोच्च अदालतको फैसलाबारे बोल्नु हुन्न भन्ने सोचाइ राख्नेहरुको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं– तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’

    पोखरेलले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने जिकिर गरे । अराजकतालाई बढावा दिनेगरी फैसला आएको भन्दै पोखरेलले मुलुकलाई घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको पनि बताए । उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसला प्रति दुख व्यक्त गर्न पनि आह्वान गरे ।

    कार्यक्रममा पोखरेलले के भने ?

    ”हामी लोकतन्त्रमा विश्वास गर्छौ, शक्ति पृथकीकरणमा विश्वास गर्छौ । तर, अदालतको फैसलालाई त्यस हिसाबले मान्दामान्दै पनि हामी भन्न चाहन्छौं– सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश यो सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन् ।

    जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामीहरु । हामी लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले, शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले, सर्वोच्च अदालतले गरेको फैसलालाई मान्दछौं ।

    त्यो मान्दछौं भनेको अर्थ हामी त्यसलाई कार्यान्वयन पनि गर्छौ । तर, हामी के विश्वास व्यक्त गर्दछौं भने तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं । यो कुरामा जोड दिन चाहन्छौं ।

    अहिले पनि सर्वोच्च अदालतले गरेको फैसलामा बोल्न हुँदैन भन्ने यस्ता खाले सोचाइ राख्ने मान्छेहरु पनि छन् । यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।

    यो अदालतको फैसलाले त्यही कुरा गरेको छ । त्यसकारणले राजनीतिक अस्थिरता निम्त्याउने, यो अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा बाधा पुर्‍याउने , अराजकतालाई बढावा दिने, मुलुकुको एउटा राष्ट्रियता र स्वाभिमानलाई कमजोर बनाउने काम हुनेछ ।

    अब राजनीतिमा हिजो ५२ सालपछि जुन ढंगको घिनलाग्दो खेल सुरु भयो । त्यही खेलको पुनरावृत्ति हुनेछ । दुखका साथ भन्न चाहन्छु, सम्मानित सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई त्यही फोहोरी आहालतिर धकेलेको छ । यसप्रति म दुख व्यक्त गर्न चाहन्छु । हामी सबैले त्यो फैसलालाई त्यस हिसाबले दुख व्यक्त गर्नुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु ।”

    प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता

    नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ । सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । उपाध्यक्ष गौतमले ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेको बुझिएको छ । गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका थिए ।

    वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् । उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले सकारात्मक रहेको जनाए पनि ठोस जवाफ नदिएको जनाए । गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन हुँदा उपाध्यक्ष गौतमले नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटनपछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेका हुन् ।

    नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले बिहीबार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए । यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया