• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपत्यका नछोड्न सांसदहरुलाई प्रचण्ड–नेपालको निर्देशन, बाहिर भएकाहरुलाई पनि एकाएक किन बोलाइयो काठमाडाैं ?

    767
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।

    उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो ।

    यस्तै प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका छन्। उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन्। अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए।

    ‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं। हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो र व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेको बताए। ‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो। तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ। हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ’, उनले भने।

    यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए। ‘पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ। ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन। अब हामीले एकताबद्ध भएर अघि बढ्नु पर्छ’, उनले भने।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला मंगलबार गरेको छ भने र १३ दिनभित्र बैठक राख्न भनेको छ। प्रचण्ड-नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

    मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन् ।

    बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए । यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो ।

    यता प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले उनले नैतिकतामा राजीनामा दिनुपर्ने माग उठिरहेको छ। प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्।

    बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछाड्ने स्पष्ट संकेत दिएका हुन्। ‘हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। यो संकल्प निरन्तर अगाडि बढ्छ।

    अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ ओलीले भने,‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।’ उनले आफू भ्रमहरूबाट मुक्त मान्छे भएको दाबी गर्दै सर्वोच्च अदालतको फैसलापछि पनि दुखित नभएको आशय व्यक्त गरे।

    ‘अप्ठेरो परिस्थिति होस्, सुख होस् दु:ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।’

    यसअघि ओली समूहका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने संकेत गरेका थिए। बालुवाटारमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै ज्ञवालीले देशको भावी दृश्य कस्तो हुन्छ भन्ने प्रष्ट नभएसम्म जिम्मेवारीबाट बाहिरिन नमिल्ने बताएका थिए।

    ‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया