• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियाे देउवा, प्रचण्ड र माधव नेपालबीचकाे भेटवार्ता, के जुट्यो सहमति ?

    483
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानी गरेका छन्।

    बुधबार दिउँसो करिब २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उनीहरूबीच छलफल भएको हो। १:१५ मा देउवा निवास पुगेका प्रचण्ड-नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएका थिए। देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालको छलफल केन्द्रीत रह्यो।

    ‘आ-आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुरा भएको छ,’ देउवाले भने। आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति उनीहरूबीच भएको छ। प्रचण्ड-नेपालले समझदारी गरेरै अगाडि जानेबारे देउवासँग कुराकानी गरेका थिए। देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफू निर्णयमा पुग्ने बताएका छन्।

    यससँगै सभापति देउवाले पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यकाबाहिर छन्। उनी आज साँझ काठमाडौं आइपुग्ने पौडेलको सचिवालयले जानकारी दिएको छ।

    प्रचण्ड-नेपालले पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। बुढानिलकण्ठको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका छन् । छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बताए । ‘छलफल भयो । नेताहरु समझदारीबाटै अघि बढ्ने कुरामा सहमत हुनुभएको बुझिएको छ’ सापकोटाले भने ।

    यसअघि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगाडि सारेको बताएका थिए । ‘बुधबारको छलफलमा पनि उहाँहरु (प्रचण्ड–माधव) ले सोही कुरा प्रस्तावका रुपमा अगाडि सार्नुभयो । त्यसमा सभापति ज्यु पनि सकारात्मक हुनुहुन्छ’ देउवा निकट स्रोतले भन्यो, ‘पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’

    प्रचण्ड-नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ। पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा थियो। मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया