• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद विघटन- मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा

    316
    SHARES

    काठमाडौं । दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।

    इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

    उक्त मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो । उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

    इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने राणाले बताएका थिए।

    फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।

    पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

    ओलीको यो कदमको सर्वत्र विरोध हुनुका साथै संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।

    एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । प्रचण्ड-नेपाल पक्षले संसद विघटनलाई प्रतिगामी कदम भन्दै देशव्यापी आन्दोलन गर्दै आएको छ ।

    यता मुद्दाको फैसला आउने तयारी भइरहेका बेला उता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् ।

    बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउँदै प्रतिनिधिसभा पुनःस्थापनमा भए मुलुकमा तमासाको राजनीति शुरु हुने बताएका हुन । उनले मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।

    “देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उनले भने, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।

    अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए ।

    पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए । उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए ।

    उनले भने, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।” प्रधानमन्त्री ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ