काठमाडौं । दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।
इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने बताइएको छ । तर यहि बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ ।
परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेका छन् । उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् ।
यद्यपि कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गर्दछ । आज बैठक बोलाउनुको उद्देश्य भने खुलेको छैन । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।
प्रतिक्रिया