• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    उपचारका लागि भारत पुगेका डा.बाबुराम भट्टराईले दिल्लीबाटै दिए यस्तो प्रतिक्रिया

    8.8K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। ट्युमरको आशंकामा डा भट्टाराई उपचारको लागि दिल्ली गएका हुन।

    नयाँ दिल्ली पुगेपछि डा भट्टराईले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यावाद दिएका छन्। पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’

    डा भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका थिए। पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन।

    दिल्ली प्रस्थान गर्नु पूर्व भट्टराईले नातिलगायतसँग बिदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो भनेर फेसबुकमा स्टाटस लेख्दै परिवारसहितको तस्वीर सेयर गरेका थिए।

    यसैबीच प्रतिनिधिसभा विघटनपछि अर्थात् पुस ५ पछि प्रायः आफ्ना भाषणहरुमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेकपाका विभिन्न नेताहरुको चर्को आलोचना गर्ने र व्यक्तिगत लाञ्छना लगाएर समय खर्चिने गरेका प्रधानमन्त्री केपी शर्माले निशानाको सूची लम्ब्याएका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबारसम्म आइपुग्दा त्यो सूचीमा नेकपा नेतृ रामकुमारी झाँक्री र उपराष्ट्रपति नन्दबहादुर पुनको नामसमेत थपेर आफूले आलोचना गर्ने व्यक्तिको संख्या बढाएका हुन् ।

    सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन नपरेका नेताहरुलाई होच्याउन छुद्र टिप्पणी गर्दै आएका छन् । यस क्रममा उनले नेताहरुलाई केटो, धामी, झाँक्री बैद्य, लगायतका उपमा जोडेर निशाना बनाउने गरेका छन् ।

    शनिबार प्रदेश १ को विराटनगरमा आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई ‘सत्य’ साबित गर्ने क्रममा संघीय सांसदसमेत रहेकी तथा कुनै बेलाकी आफ्नै कार्यकर्ता र चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीदेखि नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा हुँदै उपराष्ट्रपति नन्दबहादुर पुन समेतको चर्को आलोचना गरे । प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, उनले सर्वोच्च अदालतमाथि पनि धम्कीको भाषा प्रयोग गरे ।

    अदालतलाई धम्की

    प्रधानमन्त्री ओलीले झाँक्री, प्रचण्ड, सापकोटा र पुनपछि सर्वोच्च अदालतलाई समेत चेतावनीको शैलीमा आफ्नो पक्षमा भएका देशभरका सभा र भीडलाई हेरेर विश्लेषण गरेको हुनुपर्ने भन्दैै प्रतिनिधिसभा विघटनबारे आफ्नो पक्षमा फैसला आउनुपर्ने आशय व्यक्त गरे ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालत फैसला सुनाउने चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन गर्ने धम्की नै दिए ।

    ‘यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं’, ओलीको भनाइ थियो ।

    प्रचण्डसँग जोडे वैद्य, डाक्टर र झाँक्रीको प्रसङ्ग

    प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–माधव पक्षले केही दिनअघि काठमाडौंमा गरेको सभाभन्दा आफ्नो पक्षले विराटनगरमा गरेकोसभा ठुलो भएको र जनता कसको पक्षमा छन् भन्ने देखिएको दावी गरे ।

    सोही क्रममा प्रचण्ड–माधवलाई आफ्नो सभा हेर्न निम्ता गरेका ओलीले भने, ‘म उहाँहरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु । यता आएर हेर्नुस् । यो चौरीमा मान्छे अट्नुभएको छैन । आजको सभा कत्रो छ भने ड्रोेनहरुले पनि खिच्न सकेको छैन, माथि चन्द्रमाले मात्रै देखेको छ ।’

    प्रचण्डप्रति आफुलाई माया लाग्ने भन्दै ओलीले ‘प्रचण्ड कुनै बेला बैद्य, त्यसपछि डाक्टर र अहिले झाँक्रीको साथमा हिँडेको’ आरोप लगाए । झाँक्री तिनै नेतृ हुन् जो प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा छिन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गर्न खोज्दा उनका हजारौं समर्थकले विरोध गरेपछि केही घण्टा नियन्त्रणमा लिएर उनलाई छाड्न सरकार बाध्य भएको थियो ।

    प्रचण्डलाई लक्षित गर्दै सभामा प्रधानमन्त्री ओलीले भने, ‘उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोड्नु भो त्यसपछि डाक्टरसँग हुनुभयो । डाक्टरले पनि छाडे, त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ । तर अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

    प्रचण्डले राजनीतिमा सफलता पाउन नसक्ने बताएका ओलीले आफैले उनलाई ठुलो जुरो र अलिकति सिङ हालिदिएको तर त्यसपछि प्रचण्डमा अहंकार थपिएको दावी गरे ।

    सभामुख र उपराष्ट्रपतिमाथि किन खनिए ओली ?

    प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर उपराष्ट्रपति र सभामुखविरुद्ध समेत सार्वजनिक रूपमा आलोचना गर्न भ्याएका छन् ।

    ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ? उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसे कम चुनावतिर आउनुस्’, ओलीको भनाइ थियो ।

    केही दिनअघि पत्रकार महासंघको कार्यक्रममा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि जनाएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमाथि निशाना साँधेका हुन् । प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिलाई मात्रै अर्ति उपदेशमात्रै दिएनन्, सभामुख सापकोटालाई त ‘झगडिया’ नै भने ।

    ‘सरकारविरोधी झगडिया हो सभामुख ? सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख चुनेको झगडिया हुनका लागि हो ? तर, उहाँ झगडिया हुन जानुभएको छ । उहाँले कीर्ते सनाखत गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा, सभामुखजस्तो पदको मान्छेले कीर्ते सनाखत गर्छ ? साढे तीन बजे दर्ता गर्न लागेको कुरालाई १०ः४० मा ल्याएका थिए भने भनेर सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ सभामुखजस्तो पदका लागि ?’ ओलीले प्रश्न गरे ।

    प्रधानमन्त्री ओलीका पछिल्ला कदमलाई साथ दिन छोडेपछि उनी सभामुखविरुद्धको टिप्पणी तथा आलोचनामा उत्रिएका हुन् ।

    सत्य बोल्दा ओलीको निशाना

    संविधानमै नभएको अधिकार आफुलाई छ भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर, उनको यो कदमपछि मुलुककै राजनीति दुई धु्रवमा विभाजित छ । ठुलो संख्यामा रहेको जनसंख्या, राजनीतिक पार्टी लगायत विभिन्न संघ संस्थाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध गरिरहेका छन् । आफ्नो कदमको विरोध गर्नेहरुलाई ओलीले पनि छानीछानी जवाफ फर्काउने गरेका छन् ।

    उनले सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मलाई प्रभावित पार्ने गरी चेतावनीको शैलीमा धम्की दिने गरेका कयौं उदाहरण छन् । पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गरेका ओलीले आफ्नो विपक्षमा जनमत बढ्दै गएपछि आफुलाई सही साबित गर्न कसैलाई गालीगलौज त कसैलाई धाकधम्की देखाइरहेका छन् । उनको यो प्रवृत्तिलाई विश्लेषकहरुले प्रमुख मुद्दाबाट विषयलाई अन्तै मोड्ने प्रयत्नका रुपमा बुझेका छन् ।

    विश्लेषक भन्छन्– मुद्दालाई डाइभर्ट गर्ने मेसो

    प्रधानमन्त्री ओली व्यक्तिगत टिप्पणी गर्न रमाउनुमा दुईवटा कारण रहेको राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं बताउँछन् । पहिलो, त्यस्तो टिप्पणी गर्दा ताली पिट्ने, हाँसिदिने, रमाउने र त्यसको प्रचार गरिदिने जमात रहेका कारण यस प्रकारको प्रवृत्ति बढेको उनको भनाइ छ ।

    ‘त्यो जमातले हाँस्न वा ताली पिट्न छोड्यो भने त्यसपछि उहाँ त्यस्तो टिप्पणी गर्न छोड्नुहुन्छ’, विश्लेषक प्रसाईं भन्छन् । त्यस्तो टिप्पणी व्यक्तिको विशेषताबाट मात्रै उत्पत्ति नहुने उनको भनाइ छ ।

    त्यस्तै, दोस्रो कारणमा सैद्धान्तिक कुरा गरेर समाज, राष्ट्रलाई भिजन देखाएर अघि बढ्ने ठाउँमा कमजोर भएपछि राजनीतिक गेमका लागि त्यस्ता टिप्पणी र अभिव्यक्तिहरु आउने प्रसाईंको भनाइ छ ।

    प्रसाईंले अन्य देशका प्रधानमन्त्री वा राष्ट्रपतिहरुले पनि सार्वजनिक कार्यक्रमहरुमा त्यसरी व्यक्तिगत टिप्पणीमा आफ्नो समय खर्चिने गरेको बताए । अमेरिका, वेलायत वा भारतमा समेत त्यस्तो प्रवृत्ति बढेको उनको भनाइ छ । त्यस्तो किन भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘अब यस्तो लिवरल सिद्धान्तको प्रचार गरेर तपाईंले भोट माग्न सक्नुहुन्न । विरोध पनि गर्न सक्नुहुन्न । किनभने वरिपरि पूँजीपति वर्ग छ । त्यसैले मुद्दा र सिद्धान्तबाट मानिसलाई बाहिर निकाल्न यस्ता टिप्पणीहरु बढी गर्नुप-यो । ओलीले पनि गरेको त्यही हो ।’

    प्रधानमन्त्री ओलीले आफुले गरेको प्रतिनिधिसभा विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गर्न नसकेपछि व्यक्तिका बारेमा बोल्ने गरेको प्रसाईंको टिप्पणी छ ।

    ‘प्रधानमन्त्रीले आफुले गरेको संसद विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गरे त राम्रो हुन्छ नि । चाहेको पनि त्यही हो, उहाँ ठिक कि बेठिक भन्ने त पछि फैसला हुँदै जान्छ तर, उहाँले त्यो बाटो रोजेको देखिँदैन’, उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ