• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    म्यानमारका सैन्य कू गर्ने नेताहरुमाथि अमेरिकाले लियाे यस्ताे कडा एक्शन, विश्वभर तरंग

    1.1K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।

    बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडनको भनाइ छ ।

    राष्ट्रपति बाइडनका अनुसार अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने छ र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने छ । राष्ट्रपति बाइडनले म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने पनि बताए ।

    म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको छ । अमेरिकी राष्ट्रपति बाइडनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यानमारको सेनालाई भनेका छन् । वाइडेनकाे यो कदमले विश्वभर तरंग गएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    चिनियाँको नयाँ वर्ष ‘लुनार’ को पूर्वसन्ध्यामा बाइडेनले सीलाई शुभकामना दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा अरू के-के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन। बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोन कुराकानी गरिसकेका छन् ।

    यसैबीच अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटको निर्णयसँगै ट्रम्पविरुद्ध लगाइएको दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको छ ।

    सिनेटमा बुधबार भएको मतदानमा सुनुवाइ जारी राख्ने पक्षमा ५६ मत खसेको हो । ४४ जना भने सुनुवाइ जारी राख्न नहुने पक्षमा उभिएका थिए । ट्रम्पको दल रिपब्लिकनका ६ जना सिनेटरले पनि सुनुवाइ जारी राख्नुपर्ने पक्षमा मतदान गरेका हुन् ।

    सिनेटको सामान्य बहुमतले पनि सुनुवाइ प्रक्रियालाई निरन्तरता दिन सक्ने व्यवस्था छ । पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनले गत महिना महाभियोग लगाएको थियो । उनीविरुद्ध हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग पारित गरेको हो । अमेरिकी इतिहासमा दुईपटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

    त्यसैगरी, अमेरिकामा महाभियोग लगाइएका जम्मा तीन राष्ट्रपतिमध्ये ट्रम्प एक हुन् । वासिङ्टनस्थित क्यापिटल हिलमा जनवरी ६ मा ट्रम्प समर्थकहरूले आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थहरूले क्यापिटल हिलमा प्रदर्शन गरेका थिए ।

    उक्त आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएको’ आरोप लगाइएको हो । ट्रम्प समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरू भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय २१ जनाविरुद्ध मुद्दा चलाइएको अधिकारीहरूले जनाएका छन् ।

    अभियोग लगाएका डेमोक्रेटहरूले क्यापिटल हिलमा आक्रमण हुनुअघि ट्रम्पले गरेको भाषण तथा उनका समर्थहरूका उद्दण्ड क्रियाकलापको भिडियो देखाएका थिए । ‘यो निकै ठूलो अपराध र खराब व्यवहार हो,’ मेरिल्यान्डका सिनेटर जमी रस्किनले भने ।

    ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु ‘असंवैधानिक’ भएको पनि दाबी गर्दै आएका छन् । ट्रम्प हाल पदमा नरहेका र आमनागरिक भइसकेका उनका वकिलहरूको तर्क छ । पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डोर्‍याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिँदै आएका छन् । त्यसका लागि ट्रम्प मुख्य जिम्मेवार रहेको कपितयको आरोप छ ।

    त्यसका साथै ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमण गर्न समर्थकहरूलाई उनले नउक्साएको दाबी गरेका छन् । उनीहरूमध्ये एक डेबिड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई ‘राजनीतिक अस्त्र’ बनाइएको दाबी गरे ।

    उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्रेटद्वारा गरिएको ‘राजनीतिक नाटक र निर्लज्ज कार्य’ को संज्ञा दिएका छन् । विपक्षी एवं अल्पमतमा रहेको पार्टीलाई चुप लगाउनु सुनुवाइको प्रमुख उद्देश्य रहेको उनीहरूको दाबी छ ।

    सिनेटमा रिपब्लिकन पार्टीका केही सदस्यले महाभियोग प्रस्ताव अघि बढाउन उचित नहुने बताएका बीबीसीले जनाएको छ । केही रिपब्लिकन सदस्यले भने महाभियोग सही र उपयुक्त रहेको बताए पनि अन्तिम मतदानमा सहभागी हुने/नहुनेबारे प्रस्ट पारिसकेका छैनन् ।

    ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित हुन सिनेटको दुई तिहाइ मत आवश्यक पर्दछ । एक सय सदस्यीय अमेरिकी सिनेटमा हाल डेमोक्रेट र रिपब्लिकन पार्टीका ५०/५० सदस्य छन् । राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथिको महाभियोगबारे आफूले कुनै पक्ष नलिने बरु सिनेटले नै यसबारे निर्णय गर्ने बताइसकेका छन् । सिनेटले महाभियोग पारित गरेको खण्डमा सिनेटको सामान्य बहुमतले नै ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्न सक्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ