• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आबश्यक परे प्रचण्डलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

    9.7K
    SHARES


    काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आवश्यक परे प्रचण्डलाई समेत प्रकाउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको प्रहरीले जनाएको छ ।

    काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा आज प्रचण्ड-नेपाल समूहले देशव्यापी आम हड्ताल घोषणा गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ ।

    कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए । केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिं’सा’त्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।’

    त्यसका लागि उपत्यकामा महानगरीय प्रहरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्रहरी इकाइबाट विशेष योजना नै बनाएर सुुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘डर, ध’म्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्रहरीले रोक्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइनेछ । आन्दोलन हिं’सा’त्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ । प्रहरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी राखिने केन्द्रीय प्रवक्ता कुँवर बताउँछन् ।

    बन्द सफल पार्न सडकमा निस्किएका प्रचण्डले दिए यस्तो प्रतिक्रिया

    कपा प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द सफल पार्न आफै सडकमा निस्केका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा संयुक्त आन्दोलन हुने चेतावनी दिएपछि बालुवाटारमा तरङ्ग पैदा भएको छ। उनले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

    एक महिनाअघि संसद बिघठन गरेर देशमा अस्थिरता ल्याउन खोजेका ओलीले संवैधानिक निकायहरुमा असंबैधानिक नियुक्ति गरेर अर्को मनपरी गरेको भन्दै उक्त कदमको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर यस्तो प्रतिक्रिया दिएका छन्।

    त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

    यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

    संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

    प्रचण्ड आफै सातदोबाटो क्षेत्रमा बन्द सफल पार्न निसकिएका छन् भने माधव नेपाल कोटेश्वर क्षेत्रमा छन् । त्यस्तै बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

    प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

    गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।

    त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् । बिहीबार बिहान १० बजेसम्म उपत्यकासहित ७ प्रदेशमा कहाँ के-के भयो ?

    प्रदेश १ : धरानमा झडप

    प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन । मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने ।

    बिहीबार बिहानैदेखि प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेको उनले बताए । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

    धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

    प्रदेश २ : १९ जना पक्राउ

    प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् । पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा निस्किएका छन् । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।

    लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

    वीरगञ्ज संवाददाता सुरेश विडारीका अनुसार आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड-माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।

    बागमती : सिन्धुपाल्चोकमा छैन प्रभाव

    बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ । सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।

    उपत्यका : शीर्ष नेताहरु सडकमा

    काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किएका छन् । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उनले सम्बोधन गरेका छन् ।

    सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उनले बताएका छन् ।

    रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रचण्ड-माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

    पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा निस्किने भनिएको छ । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ७७ जनालाई पक्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।

    गण्डकी प्रदेश : ठाउँठाउँमा प्रदर्शन

    पोखरा संवाददाता अमृत सुवेदीका अनुसार प्रचण्ड-माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।

    लुम्बिनी : व्यापक प्रहरी परिचालन

    लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दले बताए । ठाउँठाउँमा प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

    प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

    प्रहरी गस्ती पनि बढाइएको छ भने बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण्ड-माधव समूहका युवा नेता राजु गुरुङको नेतृत्वमा नेता, कार्यकर्ता जम्मा भएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    मुख्य मुख्य चोकमा बन्दकर्ता

    बुटवल बजारका मुख्य मुख्य चोकमा बन्द आह्वानकर्ताहरु खटिएर आवतजावतलाई रोक लगाएका छन्। मुख्य राजमार्गमा बन्दको प्रभाव देखिए पनि भित्री सडकमा भने साना सवारी साधनहरु चलेका छन्। शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। भित्री सडकका पसलहरु छिटपुटरूपमा मात्रै खुलेका छन्।

    बिहानैदेखि बुटवलको राजमार्ग चौराह र मिलनचोकमा सवारी साधनहरु रोकेर राखिएको छ। बुटवलको राजमार्ग चौराहमा नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्री र राम प्रसाद बन्जाडे, पुरूषोत्तम घिमिरे, राजु गुरुङ्ग, निर्मल जिसि लगायतको नेतृत्वमा दाहाल नेपाल समूहका कार्यकर्ताहरु जम्मा भएर सडकमा गुड्ने साना सवारी साधनको चेकजाँच गर्ने गरिएको छ।

    बन्द कर्ताहरुले मोटरसाइकल/स्कुटरलाई रोकेर चालकहरुलाई रोक्ने गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले राजमार्ग चौराहमा एउटा मोटरसाइकल र एउटा स्कुटर तोडफोड गरेको प्रहरीले जनाएको छ। कतिपय मोटरसाईकलको चापी खोसेका थिए ।

    सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको बताए पनि रुपन्देहीमा अहिलेसम्म कसैलाई गिरफ्तार गरिएको छैन ।

    सधै भिडभाड हुने बुटवलको लुम्विनी बस टर्मिनल र भैरहवास्थित सिद्धार्थ बसपार्क सुनसान रहेको छ। भैरहवा र बुटवलबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन सन्चालनमा आएका छैनन्।

    बन्द मुक्त घोषणा गरिएको देवदह र तिलोत्तमा नगरमा समेत बन्दको प्रभाव परेको छ। रूपन्देहीको मणिग्राम कोटिहवा सालझण्डी, मुर्गियालगायतका बजारमा पनि बन्दको प्रभाव देखिएको छ।

    कर्णाली : एउटा पक्ष बन्द गराउने, अर्को खोल्न भन्ने

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु पर्‍यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् । सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त बताउँछन् ।

    सुदूरपश्चिम : डेढ सय गाडी स्कर्टिङ

    सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार तराईका जिल्लामा प्रहरी नभएको ठाउँमा टायर बालेको पाइएको छ ।

    ‘प्रहरीको उपस्थिति भएको ठाउँ शान्त छ, राजमार्ग सबैतिर प्रहरीको उपस्थिति सम्भव हुँदैन’, सुवेदीले भने, ‘नाइट बसलाई स्कर्टिङ गरेर पठाइरहेका छौं ।’ विशेष गरी बुधबार साँझ काठमाडौंबाट बाजुरा, दार्चुला लगायतका ठाउँका लागि छुटेका डेढ सय बढी सवारीसाधनलाई स्कर्टिङ गरेर पठाइएको सुवेदीले बताए । स्कर्टिङमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि साथ दिएको छ ।

    कोटेश्वर-जडिबुटीमा प्रहरीकै अवरोध!

    प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले कोटेश्वर-जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ। कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो।

    ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ। प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ। बुधबार गृह मन्त्रालयले बन्दका क्रममा शान्ति-सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने भनेको थियो।

    तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अवरोध पुर्‍याएका छन्। जडिबुटी चोकमा सवारीसाधनलाई प्रहरीले अवरोध गरिरहेको छ। दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै फर्काइएको छ।

    भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वरको अवरोध हटाउने प्रयास भइरहेको बतायो। ‘कोटेश्वरमा अवरोध आएको छ, हामी हटाउने प्रयासमा छौं,’ परिसर प्रवक्ता रमेश बस्नेतले भने। कोटेश्वर चोकमा बन्दकर्ताहरू जम्मा भएर नाराबाजी गरिरहेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ