• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सेनाद्वारा रातारात सत्ता कब्जा, आजैदेखि लागु हुने गरी संकटकाल घोषणा, राजधानीसहित मुख्य शहरमा सैनिक तैनाथ

    7.5K
    SHARES

    काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

    सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो ।

    सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ । बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

    सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो।

    सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमवार (आज) बस्ने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो। बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।

    केछ सेनाको हिरासतमा रहेकी आङ साङ सुकीको अवस्था, यस्तो छ उनको राजनीतिक यात्रा

    म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् ।

    यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ –

    आङ साङ सुकीको जन्म सन् १९४५ मा म्यानमारको याङ्गोनमा भएको हो । उनको जन्म भएको दुई वर्षपछि सन् १९४७ मा उनका पिताको हत्या भयो । उनी बि्रटिश बर्माका डिफ्याक्टो प्रधानमन्त्री थिए । सन् १९६० मा उनकी आमा खिन की भारतको लागि राजदूत नियुक्त भइन् । सुकीले माध्यमिक तहको पढाइ भारतमा गरिन् । त्यसपछि अक्सफोर्ड युनिभर्सिटीबाट उनले मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । सन् १९६७ मा उनले ब्याचलरको अध्ययन सकेकी थिइन् ।

    उक्त अवधिमा उनको भेट माइकल अरिससँग भयो । उनी भुटानी अध्ययनका विज्ञ थिए । सन् १९७२ मा उनीहरुको विवाह भयो । अहिले उनीहरुका दुई सन्तान छन् । सुकीको परिवारले सन् १९७० र ८० को दशक बेलायत, अमेरिका र भारतमा बिताएको थियो ।

    सन् १९८८ मा सुकी अन्तिम अवस्थामा पुगेकी आमाको हेरचाहको लागि म्यानमार फर्किएकी थिइन् । त्यसपछि उनको जीवनमा नाटकीय परिवर्तन आयो । सुकी म्यानमार फर्किँदा मुलुकमा तानाशाही सरकारविरुद्ध आन्दोलन भइरहेको थियो । सन् १९६२ मा ‘कू’ गरेपछि तानाशाह यू ने विनले सन् १९८८ मा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, अझै पनि नरोकिएको आन्दोलन दबाउन उनले पर्दा पछाडि बसेर हिंसात्मक आक्रमणहरु गर्ने गरेका थिए ।

    म्यानमार फर्किएसँगै सुकीले तानाशाही सरकारविरुद्ध सार्वजनिकरुपमा नै आवाज उठाउन थालिन् । साथै उनले प्रजातन्त्र र मानव अधिकारका मुद्दा उठाउन थालिन् ।

    त्यसपछि सरकार चलाइरहेको मिलिट्री जन्ता (जसको नाम परिवर्तन गरी युनियन अफ म्यानमार बनाइएको थियो) को आँखामा पर्न उनलाई लामो समय लागेन । सुकीलाई घरमा नै नजरबन्दमा राखियो र उनको बाहिरी विश्वसँगको सम्पर्कमा पूर्णरुपमा प्रतिबन्ध लगाइयो ।

    सेनाले सुकीलाई मुलुक छाड्ने भए स्वतन्त्र गरिदिने बताउँदै आए पनि सुकीले मुलुक छाड्न अस्वीकार गर्दै आइन् । उनले राजनीतिक बन्दीलाई रिहा र नागरिकलाई सत्ता नसुम्पेसम्म संघर्ष गरिरहने बताइन् । सन् १९९० मा निर्वाचन भयो र उक्त निर्वाचनमा सुकीको पार्टीले ८० प्रतिशत मत ल्यायो । तर, सेनाले त्यसलाई बेवास्ता गर्यो ।

    सन् १९९५ मा सुकीलाई घरमा नै गरिएको नजरबन्द हटाइयो । त्यसको एक वर्षपछि उनी एनएलडी पार्टीको बैठकमा सहभागी बनिन् । त्यसको तीन वर्षपछि उनले मुलुक सञ्चालन गर्ने वैधानिक निकाय भन्दै एक समिति बनाइन् ।

    यससँगै सन् २००० मा उनी पुनः नजरबन्दमा परिन् । उनलाई सन् २००२ मा नजरबन्द मुक्त गरिएको थियो । सन् २००३ मा सरकारपक्ष र विरोधी पक्षबीच झडप भयो ।त्यसपछि उनी पुनः पक्राउ परिन् । उनीलाई घरमा नै नजरबन्दमा राखियो । त्यसपछि उनको नजरबन्द हरेक वर्ष नवीकरण गर्न थालिएको थियो ।

    सन् २०१० मा भएको निर्वाचनमा विपक्षी पार्टीले सुकीलाई निर्वाचनमा उठ्न लगाएको प्रतिबन्धपछि बहिष्कारको घोषणा गरेको थियो । त्यसैले सत्तारुढ पार्टीले उक्त निर्वाचनमा जित हात पार्यो । निर्वाचन सकिएको ६ दिनपछि सुकी नजरबन्दबाट रिहा भइन् ।

    सन् २०१३ मा सुकी पार्टीको नेतृ बनिन् । त्यसपछि सन् २०१५ मा म्यानमारमा अहिलेसम्मकै खुला मतदान भयो । जसमा सुकी पार्टीको नेतृत्वमा पुनः निर्वाचित भइन् । त्यसको एक साताभन्दा कम समयमा नै मुलुकमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो ।

    सन् २०१६ मा लामो समयदेखि सुकीको सल्लाहकार रहँदै आएका एचटिन किय म्यानमारको नयाँ राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्न सुकीलाई संवैधानिक प्रतिबन्ध रहेकाले राष्ट्रपतिमा कियलाई छनोट गरिएको थियो । सुकीलाई स्टेट काउन्सुलरको जिम्मेवारी दिइएको थियो ।

    सन् २०१७ मा म्यानमारको रखाइनमा ठूलो हिंसा भड्किएको थियो । उक्त हिंसापछि सो क्षेत्रका ६ लाखभन्दा धेरै रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका थिए । यो घटनापछि भने आङ साङ सुकीको छवि धुमिल हुन पुग्यो । उक्त हिंसामा सुकीले सेनाको साथ दिइन् । यो कदमको विश्वभर आलोचना भएको थियो । यो हिंसामा सेनाको साथ दिएपछि उनलाई दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता गरिएको थियो । उक्त हिंसाबारे उनले हेगमा स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

    गत नोभेम्बरमा म्यानमारमा भएको निर्वाचनमा पनि सुकीकै पार्टीले अत्यधिक बहुमत पाएको थियो । तर, यो नतिजाबारे सेनाले भने आपत्ति जनाउँदै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा स्वीकार गर्न मानेको थिएन । यस विषयमा वार्ता चलिरहेको भए पनि निष्कर्ष ननिक्लिएपछि सोमबारबाट नयाँ संसद्ले आफ्नो काम सुरु गर्ने दिन नै सेनाले ‘कू’ गरेको हो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया