काठमाडौं । नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान आज सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १०:२३मा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।
पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए । उनीहरुले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरे ।
भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले समेत कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।
उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’
भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् । आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया