• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डसँग गोप्य बैठक सकेपछि बाबुराम भट्टराईले गरे यस्तो ट्वीट, नेता कार्यकर्ता तरंगित

    11.5K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा गाेप्य वार्ता भएको छ ।

    नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका प्रचण्ड र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।

    बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले प्रचण्डलगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’

    त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, प्रचण्ड-नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन् । आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।

    उनले लेखेका छन्, ‘ ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आ-आफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं !’

    उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ । उपराष्ट्रपति पुन, प्रचण्ड र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन् । त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मात्र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ३७ औं सत्रलाई सम्बोधन गर्दै द्वन्द्वकालमा भएका मानवअधिकार हननका गम्भीर प्रकृतिका घटनामा आममाफी नदिने बताएका थिए । शुक्रबारै अध्यक्ष प्रचण्डले ओलीले शान्ति प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने भन्दै सार्वजनिक मञ्चमा भाषण गरेका थिए । त्यही कुरा बोलेपछि उनी उपराष्ट्रपति निवास पुगेका हुन् । प्रचण्ड र भट्टराईको भेटले नेता कार्यकर्ता तरंगित बनेका छन् ।

    यस्तै संसद विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड-माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।

    यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड-माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए । ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।

    ‘पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ। नेकपाको स्सथायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।

    प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ। नेकपाको यो पक्षसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् ।

    यस्तै केपी शर्मा ओलीले तत्कालीन विद्रोही माओवादीका जनमुक्ति सेनाका कमाण्डरहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए।

    ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले… लाजै (लाग्ने), त्यसैले जनयुद्धका कमान्डर साथीहरू ओलीको कुरामा गम्भीर नहुनुहोला, कमरेडहरू तपाईंहरूको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्ने काम भएको छ, त्यसलाई कसैले कालो नपोतौं,’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राजधानीको विरोधसभामा भनेका थिए ।

    उनले इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटिए । तीमध्ये कतिपय २०६६ माघ २५ मा अयोग्य घोषित भएपछि र कति २०६९ असोज ७ मा सेना समायोजन भएपछि दृश्यमा थिएनन् । सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नपाएको भन्दै उनीहरू बेलाबेला आन्दोलित भएका थिए ।

    तिनै लडाकु र घाइतेको एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भएको हो । उनीहरूले आफूहरूको समस्या समाधान गर्न सहमत भएपछि प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जाने निर्णयमा पुगेको बताए ।

    ओलीलाई भेट्न सशस्त्र द्वन्द्वका लडाकु, घाइते र अपांगता भएकाहरूको टोलीसहित बालुवाटार पुगेका नेकपा केन्द्रीय सदस्य एवं पूर्वमाओवादीका स्थायी कमिटी सदस्य लिलबहादुर थापाले सिद्धान्तको राजनीति सबैले छोडेको अवस्थामा नेतृत्वले उपेक्षा गरेकाहरूको समूह प्रधानमन्त्रीको नेकपासँग जोडिएको बताए । पूर्वलडाकु, घाइते र सहिद परिवारले यसअघि बारम्बार निःशुल्क उपचार र उचित व्यवस्थापनको मागसहित आन्दोलन गर्दा राज्यले सम्बोधन गरेको थिएन ।

    अनशनमा बस्दासमेत राज्यले नहेरेपछि उनीहरूमा निराशा बढ्दै गएको थियो । दाहालले शुक्रबार राजधानीमा भाषणका क्रममा पनि उनीहरूको आन्दोलनको सम्बोधन नभएको स्मरण गरेका थिए ।

    ‘जनयुद्धका घाइते, अपांगहरू माइतीघरमा अनशन बस्दा, खुमलटार गएर अनेक गरेर ऋण, सापट खोजेर मैले बेलाबेला राहत दिने, सरकारलाई पटक–पटक यी घाइते, अपांगको उपचार गर्नुपर्‍यो, यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ,’ उनले भनेका थिए, ‘उनीहरू अनशन बस्दा गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरै पटक भन्दा कहींकतै टेरपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि ती घाइते, अपांगलाई हेर्नुपर्दैन प्रचण्डले भन्ने तिनै केपीले ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

    नेकपा विभाजनपछि भने सरकारले सशस्त्र द्वन्द्वमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । असन्तुष्ट पूर्वमाओवादी कार्यकर्तालाई आफूतिर तान्न सरकारले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले घाइते, अपांगता भएका, पूर्वलडाकु, सहिद र बेपत्ता परिवारलाई प्याकेजमै राहत दिने गरी कार्ययोजना बनाउन छलफल थालेको छ ।

    पूर्वलडाकुका सबै खेमालाई एकीकृत गरेर प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गराउने जिम्मा पाएका केन्द्रीय सदस्य थापाले घाइते र अपांगता भएकालाई निःशुल्क उपचार गर्ने, सहिद परिवारलाई आवधिक रूपमा एक सहिद परिवार एक रोजगार सुरु गर्ने र तीन वर्षभित्र पूरा गर्ने, बेपत्ताकोस्थिति सार्वजनिक गर्ने, पूर्वलडाकुलाई राष्ट्रिय सम्मानसहितको परिचयपत्र राज्यले दिने विषयमा प्रधानमन्त्री सकारात्मक भएकाले आफूले प्रधानमन्त्री नेतृत्वको नेकपा रोजेको बताए ।

    उनले सरकार सीमा सुरक्षा गर्न लाग्नुपर्ने र त्यसमा नेपाली सेना, सशस्त्र प्रहरीसहित पूर्वलडाकुको समूहले सहयोग गर्ने, उद्योग, पर्यटन र कृषिमा उनीहरूलाई सहभागी गराउने र संगठनमा पनि केन्द्रीय कमिटीदेखि प्रदेश र जिल्ला तहसम्मै पूर्वलडाकुको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तयार रहेको बताए । स्रोतका अनुसार ओलीले रामबहादुर थापालाई ३ सय केन्द्रीय सदस्य दिने बचन दिएका छन् ।

    सोहीअनुरूप थापाकै पहलमा यी कार्यकर्ता भित्र्याउने अभियान सुरु भएको हो । केन्द्रीय सदस्य थापाका अनुसार पूर्वलडाकुका करिब ४ हजार कार्यकर्ता उनीहरूको सम्पर्कमा छन्, उनीहरू राज्यबाट उचित व्यवस्थापनको पर्खाइमा छन् । ‘प्रचण्ड कमरेड जनयुद्धको कमान्डर हो, हामीले सलाम पनि हानेकै हो तर पछिल्लो समय उहाँमा निर्माणभन्दा पनि भत्काउने क्रम बढ्यो, सुधार आएन,’ थापाले भने, ‘वैचारिक दार्शनिक लडाइँ भएको भए त्यही हिसाबले बहस गरिन्थ्यो तर पदका लागि पार्टी फुटेकाले हामी यता लाग्यौं, यता लाग्दा साथीहरूलाई अलिकति भए पनि राहत हुने भयो ।’

    प्रधानमन्त्री ओलीले शनिबार उनीहरूलाई स्वागत गर्दै पूर्वनेतृत्वबाट धोका पाए पनि आफूले धोका नदिने बताए । ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ, नेतृत्वले तपाईंहरूका भावना दुरुपयोग गर्‍यो,’ कामचलाउ प्रधानमन्त्री ओलीले भने, ‘यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं ।’

    ओलीले दाहालमा आधारभूत राजनीतिक मूल्यमान्यता पनि नरहेको उल्लेख गर्दै उनलाई कसैले पनि सफल राजनीतिज्ञ बनाउन नसक्ने बताए । ‘सबैभन्दा नजिक भएर प्रचण्डलाई ज्यान दिन हिँड्नुभएको तपाईंहरू हैन ? तपाईंहरूले नै प्रचण्डलाई पत्याउनुभएन भने अरू कसले पत्याउँछ ? तपाईंहरू त ज्यान दिन हिँड्नुभएको हो नि त ∕ प्रचण्डको एक आदेशमा खोलामा हाम फाल्न पनि तयार हुने, आगोमा हाम फाल्न पनि तयार हुने, जे भन्यो त्यही गर्ने भनेर हिँड्नुभएको हो,’ पूर्वलडाकुहरूसँग ओलीले भने, ‘तपाईंहरूलाई त्यो जिन्दगीप्रति पश्चाताप छ नि त ∕ तर हामीले यहाँ पश्चाताप हुन दिने छैनौं ।’

    उनले माओवादी युद्धले पहिचानको राजनीतिका नाममा साम्प्रदायिकताको विद्वेष फैलाएको र त्यो गलत रहेको टिप्पणी गरे । उनले पूर्वलडाकुलाई तालिम र रोजगारको व्यवस्था गरिहाल्ने बताए । पहिलो चरणको रोजगारअन्तर्गत सहिद परिवारलाई राष्ट्रिय गौरवको आयोजनामा दक्षताअनुसार काम दिने तयारी सरकारको छ ।

    यसअघि ‘जनयुद्ध’ नाम सुन्नेबित्तिकै चिढिँदै आएका ओलीले गत पुस १५ गते सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा पहिलो पटक पूर्वलडाकु कमान्डर कालीबहादुर खामलाई सम्झिएका थिए । खामको नाम लिनुअघि ओली र खामबीच बालुवाटारमै भेट भएको थियो ।

    माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको रामहरि श्रेष्ठको हत्याकाण्डमा अदालतले खामलाई दोषी ठहर्‍याएपछि उनी कानुनको नजरमा फरार अभियुक्त हुन् तर ओलीले पटक–पटक खामलाई भेटेको र खामले आफ्ना तर्फबाट पार्टीमा आउने सदस्यहरूको नामावली प्रधानमन्त्रीलाई बुझाइसकेको केन्द्रीय सदस्य थापाले बताए । ‘आ–आफ्नो समूहमा रहेका सबै पूर्वजनमुक्ति सेनाहरू एउटै प्याकेजमा पार्टीमा लाग्ने हो,’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ