काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् ।
बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।
महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । उनले भने, ‘हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिए । मेरो पीएलाई पनि खोज्न लगाए अनलाइनमा तर भेटिएन ।’
सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।
बिहिबार प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि बसेर बहस सुनिरहने महान्यायाधिवक्ता अग्नि खरेल चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर सोध्दा उनी त्यहाँ थिएनन् ।
उनको साटो नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए ।
प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न सम्भवतः ‘भुलेको’ थियो । प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने हो ।
यसअघि प्रतिनिधिसभा विघटनका सूचना राजपत्रमा प्रकाशित हुन्थे तर पुस ५ गते विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी इजलासमा प्रश्न उठेपछि सरकारी निकायहरूमा खैलाबैला मच्चिएको थियाे ।
प्रतिक्रिया