काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।
‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’
उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’
हामी रातो झण्डा फहराउने हौं, कालो झण्डा बोक्ने होइनौं- ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने बताएका छन् ।नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए ।
‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । प्रचण्ड-माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले मन्त्रीहरुलाई कालो झण्डा समेत देखाउँदै आएका छन् ।
यस्तै ओलीले देशभक्ति मन र भावनाको हिसावले नभए त्यो नेपाली नै हुन नसक्ने बताए । ‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने त्यो के नेपाली ?’प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
‘त्यसकारण हामी नेपाली हुनुपर्दछ, नेपाली भएर जिउनुपर्दछ । नेपालका लागि काम गर्नुपर्दछ । हामी विकाउ बस्तु होइन, काम गरेको मुल्य लिन्छौँ तर आत्मा बेच्दैनौ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रचण्ड माधव नेपालहरुलाई संकेत गर्दै भने, ‘नक्कली देशभक्त होइन ।’
ओलीले थपे, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छर ? ’ओलीको प्रश्न थियो । उनले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन आवश्यक नरहेको दावी गरे ।
‘यति साह्रो बहकिन आवश्यक छैन । वाहियातमा बहकिएर ? राष्ट्रवाद तमासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ?’, प्रश्न गर्दै ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए । उनले आफूले भारतीय टिभीलाई दिएको अन्तवार्ता एक नेताले नौटंकी भएको भनेर अभिव्यक्ति दिएको भन्दै आक्रोस पोखे ।
प्रतिक्रिया